खाद्य बालीको उत्पादन घट्यो
काठमाडौं, ३ असार । चालू आर्थिक वर्षको पहिलो ११ महिना प्रमुख खाद्यान्न बालीहरुको उत्पादन ३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०७०÷७१ मा ९५ लाख ६२ हजार मेट्रिक टन उत्पादन भएको धान, गहुँ, मकै, कोदो, जौ, फापरको उत्पादन चालू आवमा ९२ लाख ६६ हजार मेट्रिक टनमात्र उत्पादन हुने कृषि विकास मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिकुल मौसमका कारण धानको उत्पादन ५ र मकैको उत्पादन ६ प्रतिशतले घटेको मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले जानकारी दिनुभयो । हिउँदमा कृषि कार्यका लागि अनुकुल समय रहेकोले प्रमुख हिउँदे बाली गहुँ तथा जौको उत्पादन भने बढेको छ ।
यस वर्ष गहुँको उत्पादन ५ र जौको उत्पादन ७ प्रतिशतले बढ्ने अनुमान गरेका प्रवक्ता ठाकुरले बताउनुभयो । गत आवमा १८ लाख ८३ हजार मेट्रिक टन उत्पादन भएको गहुँ चालू आवमा बढेर १९ लाख ७५ हजार मेट्रिक टन पुगेको छ । त्यसैगरी जौको उत्पादन चालूमा ७ प्रतिशतले बढेर ३७ हजार मेट्रिक टन पुगेको छ ।
मन्त्रालयका अनुसार चालू आवमा नगदेबालीको उत्पादनमा पनि ५ प्रतिशतले वृद्धि भई करीब ६१ लाख १८ हजार मेटन पुगेको छ । त्यसैगरी चिया, कफि तथा कपासजस्ता औद्योगिक बालीहरुमध्ये कफिको उत्पादन ५ प्रतिशतले वृद्धि भएको छ ।