Live Streaming

असार सात गतेभित्र मस्यौदा ल्याउने तयारी

काठमाडौं, ३ असार । संविधान मस्यौदा समितिले नयाँ संविधानको पहिलो मस्यौदा आउँदो सात गतेभित्र ल्याउने गरी तयारी सुरु गरेको छ । संविधानसको मस्यौदा तयार पार्न गठित मस्यौदा समितिले पाँचवटा विषयगत समितिका प्रतिवेदन एकीकृत गरेर यही असार ७ गतेभित्र संविधानको पहिलो मस्यौदा बनाउने गरी काँग्रेस नेता कृष्ण सिटौला नेतृत्वको कार्यदललाई जिम्मा दिएको छ ।

कार्यदलमा उपसमितिका पाँच जना संयोजक सहित ९ सदस्य रहेका छन । हिजोको बैठकमा समितिअन्तर्गतका पाँचवटै उपसमितिले तयार पारेका केही विवादित विषय सहित आआफ्नो प्रतिवेदन पेश गरेको थियो । समितिअन्तर्गत गठित ५ उपसमितिले संविधानका प्रस्तावना, संक्रमणकालीन व्यवस्था, संविधान संशोधन, महाभियोग प्रस्ताव समिति, संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिलगायत बाँकी विवाद समितिको पूर्ण बैठकबाटै निरूपण गर्नेगरी प्रतिवेदन पेस गरेका थिए ।

सो प्रविदेनमा सामान्य छलफल भएसँगै अब एकीकृत मस्यौदा बनाउने काम अघि बढ्ने भएको छ, जसको जिम्मेवारी समितिले कार्यदललाई दिएको हो । विवादित विषयमा पनि कार्यदलले सहमतिको प्रयास गर्नेछ  । ७ गते बिहान ८ बजे बस्ने बैठकमा कार्यदलका तर्फबाट पहिलो मस्यौदाको एकीकृत खाका तयार गरेर पेश गरिने मस्यौदा समितिका सचिव रवी शर्मा अर्यालले जानकारी दिनुभयो ।