Live Streaming

सरकारका प्राथमिकताका क्षेत्र परिवर्तन

काठमाडौं,२ असार । आगामी बजेटमा सरकारका प्राथमिकताका क्षेत्र परिवर्तन हुने भएका छन् । भूकम्पका कारण मुलुकमा ठूलो धनजनको क्षति भएकाले पुनर्निर्माण र पुनःस्थापनामा केन्द्रित हुने भएपछि आगामी आर्थिक वर्ष २०७२÷०७३ को बजेटमा प्राथमिकताका क्षेत्र परिवर्तन हुने भएको हो ।

प्रत्येक मन्त्रालय अन्तर्गत पुनर्निर्माणका लागि छुट्टै पुनर्निर्माण शीर्षक तोकिने त्यसैका आधारमा पुनर्निर्माणमा खर्च गरिने राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रमणी अधिकारीले जानकारी दिनुभयो । सरकारले भूकम्प प्रभावितका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाका आधारमा काम गरिरहेको छ । जसमध्ये राहत तथा उद्दार, अस्थायी बसोबास र भूकम्प प्रतिरोधि आवास तथा अन्य संरचना  बनाउने तयारी छ ।

 अहिले सरकार अल्पकालीन योजनाको चरणमा रहेको छ भने दाता सम्मेलनपछि तेस्रो चरणमा दीर्घकालीन योजना बनाउने अधिकारीले जानकारी दिनुभयो ।  
सरकारले आगामी आर्थिक वर्षको बजेट सिलिङ ८ खर्ब ४१ अर्ब तोकेको छ ।  चालु आर्थिक वर्षको बजेट सिमा  ६ खर्ब १८ अर्ब रहेको छ । सरकारले पुनर्निर्माणका लागि २ खर्बको कोष समेत खडा गरेको छ ।  यसअघि बजेटले ऊर्जा, पूर्वाधार निर्माण, कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै आएको थियो ।