Live Streaming

​सुनको भन्सार दर घट्न सक्ने

काठमाडौं,१ असार । देशभित्र सुन तस्करको जालो मौलाउँदै गएपछि नेपाल राष्ट्र बैङ्कले विशेष सर्तकता अपनाउने तयारी गरेको छ । भूकम्पपछि सुन तस्करी बढेपछि नाकाहरूमा हुने चेकजाँचमा कडाई गर्ने तयारी भइरहेको राष्ट्र बैङ्कका प्रवक्ता मीन बहादुर श्रेष्ठले जानकारी दिनुभयो । सरकार तथा सुरक्षा निकाय उद्धार तथा राहत वितरणमा केन्द्रीत भएकोले सुन तस्करी बढेको हो ।


यसैबीच,, तस्करी बढ्न थालेपछि सुनको आयातमा लाग्ने भन्सार दर केही कम गर्न सक्ने सङ्केत समेत राष्ट्र बैङ्कले गरेको छ । चालु आर्थिक वर्षमा यो सम्भावना नभए पनि आगामी आर्थिक वर्षमा भन्सार दर केहि घटाउन सकिने प्रवक्ता श्रेष्ठको भनाई छ ।  नेपाल र भारतको सुन आयातमा भन्सार दरलाई समायोजन गर्न बैङ्कले सुनको भन्सार महसुल केही कम  हुनुपर्ने उहाँले बताउनुभयो ।  

हाल नेपालमा प्रति १० ग्राम सुनको आयातमा ५ हजार २ सय रुपैयाँ र भारतमा प्रति १० ग्रामको आयातमा ४ हजार ८ सय रुपैयाँ भन्सार लाग्दै आएको छ । चालू आर्थिक वर्षको १० महीनामा मात्रै औपचारिक माध्यमबाट २ अर्ब ४४ करोड रुपैयाँबराबरका सुन, चाँदी र हीराजस्ता बहुमूल्य धातु नेपालमा आयात भएको छ । गत आवको सो  अवधिमा ८२ करोड ८५ लाख रुपैयाँको सुन र ७९ लाख ११ हजार रुपैयाँको हीरा आयात भएको छ । हाल नेपालमा दैनिक ५० किलो सुन अवैध बाटोबाट आउने गरेको सम्बन्ध व्यक्तिहरुले बताउँदै आएका छन् ।