मस्यौदाको काम आज सकिने
काठमाडौं, १ असार । भावी संविधानको मस्यौदा लेखनको क्रममा रहेको मस्यौदा समिति अन्तर्गतका उपसमितिको बैठक आज पनि बस्दैछन् । पूर्ण समितिको बैठक भोली बस्ने भएपछि आज साँझ सम्ममा प्रतिवेदन तयार पार्ने कार्ययोजनासहित हिजोबाट विभिन्न ५ वटा उपसमितिहरु सक्रिय भएका हुन् । मौलिक हक उपसमितिले भने हिजै आफ्नो काम सम्पन्न गरेको संयोजक अईन्द्रसुन्दर नेम्बाङ्गले जानकारी दिनुभयो ।
अन्य उपसमितिहरु प्रस्तावना, न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाको बैठक आज पनि दिनभर जसो बस्ने छ । भरतमोहन अधिकारीको संयोजकत्वमा व्यवस्थापिका, हितराज पाण्डेको संयोजकत्वमा कार्यपालिका, रमेश लेखकको संयोजकत्जमा न्यायपालिका, जितेन्द्र देवको संयोजकत्वमा प्रस्तावना र अईन्द्रसुन्दर नेम्बाङ्गको संयोजकत्वमा मौलिक हक उपसमिति गठन भएका हुन् । आज साँझसम्मको समयसीमा पाएपनि उपसमितिहरुले प्रारम्भिक मस्यौदाको खाका भने तयार गर्न अझै केही दिन लाग्ने संयोजकहरुले बताएका छन् ।
यसैबीच, महालेखा परिक्षकको कार्यालयले आज संविधानसभा अध्यक्ष सुवास नेम्बाङ्गको ध्यानाकर्षण गराउदैछ । संविधानको मस्यौदा लेखनको काम जारी रहेका समय महालेखा परिक्षकको कार्यालयले आफ्नो क्षेत्र भित्र पर्ने विषयबारे संविधानसभा अध्यक्ष नेम्बाङ्गको ध्यानाकर्षण गराउन लागेको हो । यसअघि हिजो पनि लोकसेवा आयोगका पदाधिकारीले सभाध्यक्ष नेम्बाङ्गलाई सिंहदरवामा भेटी भावी संविधानमा लोकसेवा आयोगको क्षेत्राधिकार लगायत विषयबारे ध्यानाकर्षण गराएको थियो ।