भूकम्पपछि बीमाकोे ३५ करोड दाबीमात्रै भुक्तानी
काठमाडौं, ३२ जेठ ।
बीमा कम्पनीहरुले विनाशकारी भूकम्पपछि कुल ३५ करोड रुपैँयाको दाबीमात्रै भुक्तानी गरेका छन् । निर्जीबन बीमा कम्पनीले २८ करोड ६६ लाख रुपैयाँ र जीवन बीमा कम्पनीले ६ करोड २२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् । बीमा कम्पनीहरुको दाबी भुक्तानीको क्रम सुस्त देखिएको भन्दै विमा समितिका अध्यक्ष फत्तबहादुर केसीले असन्तुष्टी व्यक्त गर्नुभयो । समितिले हिजो राजधानीमा पत्रकार सम्मेलन गरी भूकम्पपछिको बीमा क्षेत्रको अवस्थामा जानकारी दिएको हो ।
समितिले भूकम्पसँग सम्बिन्धत बीमा दाबीमा सरल प्रक्रियाबाट भुक्तानी दिन बीमा कम्पनीहरुलाई निर्देशन दिए पनि बिमा कम्पनीहरुले विभिन्न वहानामा झुलाउने गरेको भूकम्पपीडितहरुले आरोप लगाएका छन् । बीमाशुल्क बढाउने विधि र प्रक्रिया भएकोले बिधि र प्रक्रियाबिना कसैले मनलागी बीमाशुल्क बढाउन नपाउने केसकिो भनाई छ ।
बीमा कम्पनीहरुले बीमा शुल्क बढाएको हल्लामा कुनै सत्यता नभएको पनि उनले दाबी गरेका छन् । विमा समितिका अनुसार जीबन बीमा कम्पनीमा २ सय ९२ वटा बीमा दाबी परेकोमा हालसम्म २ सय १७ वटा दाबीको भुक्तानी गरेका छन् । यो कूल बीमा दाबीको ८६.७७ प्रतिशत हो । त्यस्तै निर्जीबन बीमा कम्पनीहरुमा १३ अर्ब ८३ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानीको माग गर्दै १४ हजार ४ सय ५८ उजुरी परेकोमा हालसम्म ११ सय ५ वटा दाबीको मात्रै भुक्तानी भएको छ । यो निर्जीबन बीमा कम्पनीमा परेको कूल दाबीको ११.१० प्रतिशतमात्रै भुक्तानी हो ।