Live Streaming

पहिलो मस्यौदा लेखन सुरु हुँदै

दीपक धिताल, काठमाडौं ।
संविधान मस्यौदा समितिले आजदेखि मस्यौदा लेखन कार्य सुरु गर्दैछ । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला सभापति रहेको मस्यौदा समितिले पहिलो मस्यौदा निर्धारीत १५ दिनभित्र ल्याइसक्ने बताएको छ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि संविधानसभामा भएको छलफलपछि संविधानसभाले मस्यौदा समितिलाई १५ दिनभित्र पहिलो मस्यौदा तयार पार्न निर्देशन दिएको छ । बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणाली लगायतका अन्तरबस्तुलाई दलहरुबीच भएको १६ बुँदे सहमतिको आधारमा मस्यौदाका रूपमा उतारिनेछ ।

समितिअन्तर्गत रहेका पाँचवटा उपसमिति र एउटा कार्यदललाई आआफ्नो समितिअन्तर्गतका विषय दिइनेछ । उपसमिति र कार्यदलले सँगसँगै काम गर्ने समितिले जनाएको छ ।  विवादित विषयहरू समानान्तर ढंगले लैजान नसके समितिलाई थप समय लाग्न सक्ने समितिका केही सदस्यले बताएका छन । संविधानसभाले संविधान संशोधन, नागरिकता, प्रस्तावनामा बहुलवाद लगायतका विवादित विषय जस्ताको त्यस्तै नै मस्यौदा समितिमा पठाएको छ । समितिले संविधानको प्रस्तावना, मौलिक अधिकार, संक्रमणकालीन व्यवस्थापन, संविधानका परिवर्तनीय र अपरीवर्तनीय धारालगायतका विषयमा भने मस्यौदा तयार पारिसकेको छ ।

अब पहिलो मस्यौदा बनेपछि संविधानसभामा पेश हुने र त्यसपछि जनतामा जाने प्रक्रियाबारे छलफल हुने संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो । फास्ट ट्रयाकबाट संविधान जारी गर्ने सहमति भएकाले जनतामा बढीमा एक साताका लागि सुझावका लागि लैजाने र त्यसपछि अन्तिम मस्यौदा तयार पारिने स्रोतले जनाएको छ ।