मधेसी दलको राष्ट्रपतिलाई ज्ञापन
जेठ, ३० काठमाडौं । दलहरुको १६ बुँदे सहमतिप्रति असन्तुष्ट पाँच दलहरुले राष्ट्रपति डाक्टर रामवरण यादवलाई ज्ञापनपत्र बुझाएका छन् । अन्तरिम संविधानको धारा १ सय ३८ को व्यवस्था उल्लङघन् गर्दै दलहरुले सहमति गरेको र त्यो आफूहरुलाई मान्य नहुने भन्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका हुन् ।
अन्तरिम संविधानको धारा १ सय ३८ मा प्रदेशको सीमानाको टुंगो संविधानसभाले नै लगाउने ब्यवस्था भए पनि चार दलले संविधान मिचेर सहमति गरेको र त्यो आफूहरुलाई मान्य नहुने पाँच दलको ज्ञापनमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै राष्ट्रपति यादवले संविधान मिचेर कुनै पनि काम नहुने भन्दै ढुक्क रहन आग्रह गर्नुभएको सभद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो जानकारी दिनुभयो । फोरम नेपाल, सदभावाना, तराईमधेश लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टी र राष्ट्रिय मधेश सदभावना पार्टीका नेताहरु राष्ट्रपतिलाई ज्ञापन बुझाउन पुगेका थिए ।