Live Streaming

पहिलो मस्यौदा लेखन सुरु हुँदै, आइतबार पहिलो बैठक बस्ने


जेठ, ३० काठमाडौं । संविधानसभाको संविधान मस्यौदा समितिले संविधानको मस्यौदा तयार पार्न अनौपचारिक छलफल सुरु गरेको छ । भोलि समितिको बैठक बोलाएका सभापति कृष्णप्रसाद सिटौलाले हिजो साँझ देखि नै सचिवालयका कर्मचारी र अरु दलका सभासदहरुसँग अनौपचारिक परामर्श गरिरहनुभएको छ ।

सभापति सिटौलाले छिटो मस्यौदा लेखनको उपाय र विधि बारे अनौपचारिक छलफल थाल्नुभएको र भोलि समितिको बैठक डाकिएको समितिका सचिव रबी शर्माले जानकारी दिनुभयो ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि हिजो संविधानसभामा भएको छलफलपछि पहिलो मस्यौदा बढीमा १५ दिनभित्र ल्याउन संविधानसभाले निर्देशन दिएको छ ।

संविधानसभाको कार्यतालिका नभएपछि सभाध्यक्ष सुवास नेम्वाङले फाष्ट ट्रयाकबाट संविधान जारी गर्ने दलहरुको प्रतिवद्धता बमोजिम मस्यौदा समितिलाई १५ दिनको समय उपलब्ध गराउनुभएको हो ।