Live Streaming

​ताप्लेजुङमा दर्जनौ गाँउमा फेरी पहिरो,बुधवारको भिषण पहिरोमा पुरिएका मध्ये ३८ शव भेटिए


सीता निरौला ताप्लेजुङ ३० जेठ । ताप्लेजुङको पश्चिमी क्षेत्रमा गएको पहिरोमा पुरिएकाहरुको मध्ये शनिवार सम्म ३८ जनाको शव भेटिएको छ । पहिरोमा अझै २३ जना वेपत्ता छन् । 
पहिरोमा पुरिएकाको खोजी कार्यमा परिचालित सुरक्षाकर्मी र स्थानिय वासिन्दाले शनिवार ३ शव   भेटाएपछि मृत्यु हुनेको संख्या ३८ पुगेको हो । शनिवार लिवाङ गाविस २ मा थप शवहरु भेटिएका हुन् । शुक्रवार सम्म ३५ शवहरु भेटिएका थिए । पहिरोमा पुरिएका मध्ये जिल्लाको थिङलावु गाविसवाट मात्रै १७ जनाको शव निकालिएको छ । त्यस्तै लिवाङमा १२  लिङतेपमा ६ र खोक्लिङमा तीन जनाको शव भेटिएको भेटिएको प्रहरीले जनाएको छ ।     
खोजीकार्यमा सुरक्षाकर्मी मात्र नभई पहिरोवाट विस्थापित भएका परिवारहरु पनि आफै खटिएका छन् । शनिवार घाम लागेर मौसममा केही सुधार आएका कारण स्थलगत रुपमा परिचालित सुरक्षाकर्मी र स्थानियले खोजी कार्यमा केही सहजताको महसुस गरेका थिए । 
ताप्लेजुङको पश्चिमी क्षेत्रमा गएको पहिरोमा हराएकाहरुको खोजी तथा उद्धार कार्य नसकिदै जिल्लाको पुर्वी क्षेत्रमा शुक्रवार राती पुन पहिरो गएको छ । वर्षा सँगै आएको पहिरोले सवैभन्दा वढी जिल्लाको सुरुम्खिम र खेवाङ, पेदाङ,याम्फुदिन लगायतका गाविसमा क्षती पुर्याएको स्थानिय वासिन्दाले वताएका छन् । 
पहिरोका कारण शुक्रवार दिनभर अवरुद्ध भएको मेची राजमार्गमा शनिवार पनि पहिरो खसेका कारण यातायात साधन संचालन हुन सकेका छैनन् । ताप्लेजुङको खोक्सेखोला र कावेलीमा पहिरो खसेर वाटो अवरुद्ध भए पछि झापाको विर्तामोड इलाम पाँचथर लगायतवाट ताप्लेजुङ तर्फ आउने गाडी र ताप्लेजुङवाट झापा तर्फ जाने गाडीहरु विच वाटोमै अलपत्र परेका छन् । 
सुरुम्खिम निवासी खड्ग तिवारीका अनुसार पहिरोले सो क्षेत्रको थुप्रै भौतिक संरचना अलैंचीवारी,पशुचौपाया र खेतीयोग्य जमिनमा क्षती पुर्याएको छ ।

पहिरो पछि ठुलठुला छाँगाहरु लेदोसरी वगिरहेका छन् । सुरुम्खिम माविकै छेउवाट पहिरो गएकोले सो विद्यालय पनि खतरामा परेको उनले जनाकारी दिए । पहिरोले सो क्षेत्रमा ठुलो क्षती पुर्याएको भन्ने जानकारी पाउनासाथ सो क्षेत्रमा तेल्लोकवाट प्रहरी पठाइएको र हाल सम्म केही घरहरु पुरेको, पशु चौपाया,अलैंचीवारी र खेतीयोग्य जमिनको साथै भौतिक संरचनाहरु वगाएको जानकारी आए पनि मानविय क्षतीको जानकारी भने नआएको ताप्लेजुङका प्रहरी नायव उपरिक्षक शान्तीराज कोइरालाले वताए ।
थिङलावुका नरेन ओख्रावुका अनुसार पश्चिमी क्षेत्रमा पनि पहिरो अझै रोकिएको छैन । अहिले पनि उक्त क्षेत्रमा पहिरोवाट ढुङगाहरु लडिरहेका छन्  ।

वर्षा सुरु हुना साथ थप पहिरो जाने चिन्ताले स्थानिय वासीन्दाहरु त्रासमा छन् । गाँउमा जताततै सयौं पहिरोहरु गएकोले र जमिनको अवस्था अत्यन्तै नाजुक भएकोले पनि अलिकती ठुलो मात्र पानी पर्यो भने पनि थप पहिरो आउने सम्भावना वढी छ । जसकारण भगवान पुकार्दै स्थानिय वासीन्दाहरु अहिले आ आफ्नो ढंगले सुरक्षित हुने प्रयासमा रहेको उनी वताउछन् । 
ताप्लेजुङमा वुधवार राती गएको पहिरोवाट पहिरोवाट अति प्रभावित लिवाङ,थिङलावु,खोक्लिङ,खाम्लुङ,लिङतेप र सान्थाक्रा गाविसवाट जम्मा ५५२ जना विस्थापित भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।