Live Streaming

मनसुन सुरु हुन अझै दुई दिन लाग्ने

काठमाडौं, २९ जेठ ।
मुलुकका विभिन्न भेगमा वर्षा भइरहे पनि मनसुन सुरु हुन भने अझै एक दुई दिन लाग्ने भएको छ । बंगालको खाडीबाट जलाशययुक्त वायु पूर्वी क्षेत्र हुँदै नेपाल प्रवेश गरेकाले छिट्टफुट्ट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मौसमवीद् समीर श्रेष्ठका अनुसार भारतको सिक्किमसम्म मनसुन आइपुगेकाले अबको एक दुइ दिनमा देशको पूर्वी क्षेत्रबाट सिमसिमे वर्ष सहित पश्चिम प्रवेश गर्नेछ । पूर्वी भेगबाट प्रवेश गर्ने मौसमी हावाले यस अवधिमा पश्चिमी भेगतर्फ सर्दै देशभर वर्षा गराउने र पुनः पश्चिमीबाट पूर्व हुँदै निष्क्रिय हुने गर्छ । महाशाखाका अनुसार सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधिलाई मनसुनको समय मानिन्छ ।

त्यसमा २÷३ दिन तलमाथि हुँदा स्वाभाविक मानिने श्रेष्ठको भनाई छ । मनसुन भित्रिने क्रममा उच्च तथा पहाडी क्षेत्रमा हावाहुरी, गर्जन, चट्याङ र क्षणिक वर्षाको सम्भावना रहेको उहाको भनाई छ ।