प्रतिवेदनमाथि छलफल सुरु हुदै
काठमाडौं, २९ जेठ ।
संविधानसभामा आजबाट संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले बुझाएको प्रतिवेदनमाथि छलफल सुरु हुदैछ । मधेश केन्द्रित सहित केही क्षेत्रिय दलहरुको फरक मत सहित समिति सभापति बाबुराम भट्टराईले हिजो अबेर बसेको संविधानसभाको बैठकमा सहमतिको प्रतिवेदन प्रस्तुत गर्नूभएको थियो । अपरान्ह ३ बजेपछि बस्ने बैठकमा सो प्रतिवेदनमाथि छलफल सुरु हुने संविधानसभा सचिवालयका सहप्रवक्ता सुर्दशन कुईकेलले जानकारी दिनुभयो । छलफल जतिसक्दो छोटो बनाई प्रतिवेदन मस्यौदा समितिमा पठाउने तयारीमा संविधानसभा सचिवालय रहेको छ । यद्यपी अधिकांश सभासद्ले बोल्न चाहेकाले छलफल लम्बिने सम्भावना पनि छ । अध्यक्ष सुवास नेम्बाङ्गले प्रमुख दलहरुबीचको सहमति र संवाद समितिमा समेत लामो छलफल पछि प्रतिवेदन संविधानसभामा आएकाले प्रमुख दलका सभासद्लाई कम संख्यामा मात्र सहभागी हुन आग्रह गर्दै आउनुभएको छ ।
राप्रपा नेपाल, फोरम नेपाल, सद्भावना, संघीय समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत केही प्रमुख दलका सभासद्हरुले समेत प्रतिवेदनमा फरक मत राखेका छन् । यस्तै संविधानको प्रस्तावनामा बहुलवाद राख्ने नराख्ने बिषयमा विवाद भएपछि संवाद समितिले मस्यौदा लेखनका क्रममा थप छलफल गर्ने भन्दै विवाद सहित सो बिषय संविधानसभामा पठाएको छ ।