संघीयता सहितको संविधान बन्नेमा आशंका नगर्न सभाध्यक्ष नेम्बाङ्गको आग्रह
काठमाडौं, २८ जेठ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संघीयता सहितको संविधान बन्नेमा आशंका नगर्न आग्रह गर्नुभएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमित विहानी कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै सभाध्यक्ष नेम्वाङले सामथ्र्य र पहिचानका आधारमा संघीय संविधान बन्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – " प्रत्येक सभामा ५ जना चयन हुने गरी ४० सहितको ४५ सदस्यीय माथिल्लो सदन बनाउने दलीय सहमती भएको छ । यसबाट पनि प्रष्ट हुन्छ, संघीयता सहितको संविधान बन्ने पक्का छ । "
संविधानमै सबै कुरा नअटाउने दाबी गर्दै नेम्वाङले संघीयता पनि तत्कालै नसमेटिएकाले संबिधान अधुरो बन्ने भन्ने कुरा गलत भएको जिकिर गर्नुभयो । उहाँले संबिधान बहिर रहेका दलहरूलाई छलफलमा आएर संविधान निर्माण प्रक्रियामा सहभागि हुन आग्रह समेत गर्नुभयो । असार मसान्तभित्र कसरी संबिधान जारी हुन्छ भन्ने प्रश्नमा उहाँले प्रक्रिया छोट्टयाउनका लागि नियमावली निलम्बन गर्नुपर्ने बताउनुभो । दलहरूबीच प्रक्रियामा सहमति भयो भने असारभित्र संबिधान जारी गर्नसकिने उहाँको विश्वास थियो । सभाध्यक्ष नेम्वाङले अहिले राष्ट्रिय सरकारको कुरा गरेर संबिधान निर्माण कार्य प्रभावित नगर्न दलहरूलाई आग्रह गर्नुभयो ।