महतले मोदिलाई भेट्दै
काठमाडौं, २८ जेठ ।
दाता सम्मेलनको निम्तो दिन भारत पुग्नुभएका अर्थमन्त्री रामशरण महतले आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै हुनुहुन्छ । प्रधानमन्त्री मोदीलाई भेटेर असार १० गते आयोजना हुन लागेको दाता सम्मेलनमा सहभागिताको निम्तो दिनुहुनेछ ।
आजै अर्थमन्त्री महतले भारतीय वित्तमन्त्री अरुण जेट्लीलाई पनि भेट्ने कार्यक्रम छ । नेपालले पुनर्निर्माणका लागि स्रोत जुटाउने महत्वपूर्ण माध्यमको रुपमा दाता सम्मेलनको आयोजना गर्न लागेको हो । विपतको घडीमा भारतीय प्रधानमन्त्री मोदीले काठमाडौं पुगेर अवलोकन गर्नुहुने र नेपालीलाई हौसला प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा रहेको महतले बताउनुभयो । यसअघि हिजो विदेशमन्त्री सुष्मा स्वाराज लगायतसँग महतले भेटघाट गर्नुभएको थियो ।