ताप्लेजुङमा भिषण पहिरो, १२ जनाको मृत्यु, सयौं बेपत्ता
सीता निरौला, ताप्लेजुङ्ग ।
ताप्लेजुङमा बर्षासँगै आएको पहिरोले पुरिएर कम्तिमा १२ जनाको मृत्यु भएको छ । हिजो साझदेखि परेको अबिरल बर्षासंगै ताप्लेजुङको पश्चिमी क्षेत्रका बिभिन्न गाउँमा पहिरोले पुरिएका ठाउँबाट हाल सम्म १२ जनाको शव प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पश्चिमी ताप्लेजुङका ६ गाविसका खोला आसपास र डांडामा रहेका दुई दर्जन बढी घर बगाएपछि सयौं स्थानियबासी बेपत्ता छन् । थिङलाबु गाबिसको याङपेलीमा ५, खोक्लिङ धुसेनी, लिङतेप र सान्थाक्रामा २–२ तथा लिवाङ्गमा एक जनाको शव भेटिएको छ । घाईतेहरुलाई बिहानैबाट उद्धार गरी नजिकै रहेको स्थास्थ्यचौकी तथा अस्पताल लैजाने क्रम जारी छ भने हराईरहेकाहरुको खोजी बिहानैबाट सुरु भएको छ ।
गाउँमा रहेका प्रहरी युनिट उद्धारका लागि खटिए पनि पैदलको माध्यबाट पहिरोग्रस्त क्षेत्रमा जान नसकिएका कारण समस्या भईरहेको प्रहरीले बताएको छ । तमोर तथा मेवाखोला आसपासको सबैभन्दा ठूलो दोभान बजार समेत जोखिममा परेका छन् ।
जिल्लाका खोक्लिङ, थिङलाबु, लिवाङ, लिङतेप र खाम्लुङ गाविसमा पहिरोले दर्जनौ घरहरु बगाएको र कैयौ मानिसहरु बेपत्ता र घाइते भएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले जानकारी दिएका छन्।
यसैबीच गृह मन्त्रालयले उद्धारका लागि सेनाको हेलिकोप्टर पठाएको छ। बिहान ९ बजे ताप्लेजुङका निर्वाचित सभासद् डम्वरध्वज तुम्वाहाम्फेसहितको टोली उद्धारका लागि हेलिकोप्टर लिएर ताप्लेजुङ आइपुगेको छ।