गर्मिका कारण सिराहा र सप्तरीमा ६ जनाको मृत्यु
काठमाडौं, २६ जेठ ।
अत्याधिक गर्मिका कारण तराईका बिभिन्न पूर्वी जिल्लामा ६ जनाको मृत्यु भएको छ । केहि दिनयता बढेको तापक्रमका कारण सिराहामा ४ र सप्तरीमा २ जनाको मृत्यु भएको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । मृत्यु हुनेहरुमा सिराहाको चन्द्रअयोध्यापुर गाबिसका कौशिला सदा, टुलावा सदा ,जिबछि सदा र गर्भा सदा रहेका छन् ।
त्यस्तै सप्तरीको शम्भुनाथ नगरपालिकाकी ६४ बर्षीया सम्झादेवी सरदारको पनि अत्याधिक गर्मिका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मिकै कारण सोलुखुम्बुबाट धरान तर्फ हिडेका लेखमान बिकको पनि यात्राकै क्रममा सप्तरीको मोहलीमा हिजो मृत्यु भएको प्रहरीले जनाएको छ । बिगत केहि दिनयताको अत्याधिक गर्मिका कारण बिभिन्न रोगको सक्रमण बढेको अस्पातालहरुले बताएका छन् । मनसुनको समय भैसकेपनि बर्षा हुन नसकेपछि तराईको तापक्रम अत्याधिक बृद्धि भएको छ ।