अस्थायी न्यायाधीशहरु विदा हुँदै
काठमाडौ, २६ जेठ ।
पुनरावेदन अदालतका २८ अस्थायी न्यायाधीशको पदावधि आज सकिदैछ । न्याय परिषद्का सदस्यहरुबीचको विवादका कारण उनीहरुको पदावधि आज साँझ ५ बजेपछि स्वतः समाप्त हुने भएको हो । अस्थायी न्यायाधीशहरुको पदावधि थप्ने नथप्ने बिषयमा निर्णय गर्न न्यायपरिषद्को बैठक समेत बोलाईएको छैन । उनीहरुको पदावधि आज सकिएसँगै न्याय सम्पादनमा समेत गंभिर असर पर्ने देखिएको छ ।
अधिवक्ता चन्द्रकान्त ज्ञवालीले पदावधि नथप्ने मनसायले न्याय परिषद्को बैठक नबोलाईएकाले राजनीतिक चलखेल तिब्र भएको आरोप लगाउनुभयो । ४८ घण्टा अघि नै बैठक बस्ने सूचना दिने चलन भएपनि न्याय परिषद्को बैठकबारे जानकारी नभएको सदस्यहरुले बताएका छन् ।
प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले मुख्य न्यायाधीश र न्यायाधीश नियुक्तीमा केही सर्त राखेपछि परिषद् बैठक अनिश्चित बनेको स्रोतको भनाईछ । २८ अस्थायी न्यायाधीशको पदावधि आज सकिने भएपछि नेपाल बार एसोसिएसनले हिजै प्रधानन्यायाधीश शाहको ध्यानाकर्षण गराउदै एकै पटक ठूलो संख्यामा न्यायाधीश अभाव हुँदा न्याय सम्पादनम नै समस्या हुँने बताएको छ ।