एजेण्डा सहित संविधानसभा बैठक बस्दै
काठमाडौं, २६ जेठ ।
दलहरुबीच संविधानका अन्तरबस्तुमा सहमति भएपछि संविधानसभाको बैठक एजेण्डा सहित आज अपरान्ह बस्दैछ । सहमतिका नाममा बारम्बार स्थगित हुदै आएको बैठकमा आज भने दलहरुबीच गएराती भएको सहमतिको प्रस्ताव प्रस्तुत हुनेछ । बैठक अपरान्ह ३ बजेका लागि बोलाईएको छ । आजको बैठकले सहमति जुटेका बिषयमा प्रतिवेदन तयार गर्न संवैधानिक संवाद तथा राजनीतिक सहमति समितिलाई जिम्मा दिनेछ । संविधानसभा सचिवालयकाअनुसार, संवैधानिक समितिले भोली नै आफ्नो प्रतिवेदन संविधानसभामा बुझाउनेछ । त्यसलगत्तै मस्यौदा समितिले मस्यौदा लेखनको काम थाल्ने सचिवालयलले जनाएको छ ।
संविधानका अन्तरबस्तुमा दलहरुबीच गएराती १६ बुँदे सहमति भएपछि संविधान निर्माणको बाटो खुलेको हो । ७ बर्ष लामो छलफलपछि अन्ततः दलहरुबीच पहिचानका पाँच र सामथ्र्यका ४ आधारमा ८ प्रदेश बनाउने सहमति भएको छ । यस्तै प्रदेशको नामाङ्कन प्रदेशसभाको दुई तिहाईबाट निर्धारण हुनेछ भने सीमाङ्कनको टुङ्गो संघीय आयोगले लगाउनेछ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने संसदबाट निर्वाचित प्रधानमन्त्री र संबैधानिक राष्ट्रपतिको ब्यवस्था गरिएको छ । यस्तै न्याय निरुपण गर्न १० बर्षको संवैधानिक अदालतको ब्यवस्था गर्न समेत दलहरु सहमत भएका छन् ।