Live Streaming

बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त

पवन पौडेल, दमौली ।
अपरेशनका लागि ल्याइएकी बिरामीको अस्पतालमै मृत्यु भए पछि तनहुँको दमौलीमा तनावग्रस्त बनेको छ । कोरियाली लगानीको ने–कोर्यो अस्पतालमा पाँच दिन अघि भर्ना भएकी काहुँ शिवपुर ग्वास्लुङकी ४५ वर्षीया गीता मल्लको हिजो साँझ मृत्यु भएको हो । पाठेघरको शल्यक्रिया गराउन आएकी मल्ललाई हिजो डिस्चार्ज गर्ने तयारी गरिए पनि साँझ बेड मुनी मृत भेटिएकी थिइन् । बेडबाट खस्दा टाउकोको नशामा गंभिर असर परेर उनको मृत्यु भएको अस्पतालले दाबी गरे पनि मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आज बिहानैबाट प्रदर्शन गरेका हुन् ।

अस्पतालले मृत घोषणा गरेर शव लैजान भने पनि आफन्तले बुझेका छैनन् । व्यवस्थापनले भने अपरेशनपछि ठिक भएकी मल्ललाई डिस्चार्ज घोषणा गरिसकेपछि घटना भएको भन्दै यसमा आफूहरुको कुनै दोष नभएको बताएको छ । स्थानियप्रसासनले भने अस्पतालको सुरक्षालाई ध्यानमा राखी सुरक्षाकर्मी परिचालन गरेको छ ।