मकैं खेती संकटमा
क्रान्ति शाह, वीरगञ्ज ।
लामो समय देखिको खडेरी र चर्को घामका कारण पर्सा जिल्लामा लगाइएको मकै खेती संकटमा परेको छ । लामो समय देखि पानी नपरेको र जेठ महिनाको शुरु देखि नै घाम चर्केकाले मकैको बोट खतेमै सुक्न थालेको किसानहरुले बताएका छन् । खडेरीले सबै भन्दा बढि ठोरीमा लगाइएको मकै खेतीमा असर पारेको छ । ठोरीमा यसपाली करिब एक हजार हेक्टर क्षेत्रफलमा मकै खेती गरिएकोमा खडेरीका कारण मकैको बोट सुक्न थालेको स्थानीय प्रेम लामाले बताए । चार बिघा क्षेत्रफलमा मकै रोपेका ठोरी ८ का किसान भैरब बहादुर बस्नेतले खडेरी र चर्को घामले यसपाली मकै खेती सखाप भएको बताए ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार ठोरी, बेलवा, निर्मलवस्ती, विरुवागुठी, बागवाना, सुर्वणपुर, महादेवपट्टी लगायतका क्षेत्रमा बढि मात्रामा मकैको खेती हुने गरेको छ । अहिलेको खडेरीका कारण यसपाली पर्सामा मकैको उत्पादनमा निकै गरावट आउने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय पर्साकाप्राविधीक सहायक सुरेश प्रसाद चौरसीयाले बताउनु भयो । पर्सा जिल्लामा यसपाली करिब चार हजार हेक्टर क्षेत्रफलमा मकैको खेती गरिएको कार्यालयका प्राविधीक सहायकचौरसीयाले बताउनु भयो ।