अनुमतिबाहेकका जग्गा फिर्ता गर्ने तयारी
भानुभक्त आचार्य, हेटौंडा ।
माग गरेको भन्दा बढी जग्गा भोगचलन गरिरहेको पाईपछि हेटौडास्थित औद्योगिक प्रतिष्ठान व्यवस्थापनले बढी जग्गा फिर्ता गर्ने तयारी गरेको छ । हेटौंडाका अधिकांश उद्योगले अनुमति भन्दा बढी जमीन प्रयोग गरिरहेको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिले बढी जग्गा फिर्ता गर्न लागेको हो । आज साँझ ५ बजे बस्ने संचालक समितिको बैठकले यो बिषयमा निर्णय गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लि. का अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले बताउनुभयो ।
पाँच दशकदेखि जग्गा संझौता गरेर औद्योगिक प्रतिष्ठान संचालन गरिरहेका उद्योगीले २० देखि २५ प्रतिशतसम्म बढी जमीन प्रयोग गरिरहेको पाईएको अध्यक्ष बस्नेतले बताउनुभयो । हेटौंडा औद्योगिक क्षेत्रमा औद्योगिक प्रतिष्ठानको प्रयोजनमा जग्गा अभाव भएको तर, आबासका लागि धेरै जग्गा प्रयोग भईरहेकोले त्यस्ता जग्गा पनि फिर्ता गर्ने तयारी गरिएको अध्यक्ष बस्नेतको भनाई छ ।
हेटौंडामा मात्र पाँच सय रोपनी भन्दा बढी जग्गा औद्योगिक प्रतिष्ठानले अनाधिकृत रुपमा भोगचलन गरिरहेको पाइएपछि व्यवस्थापनले जग्गा नापी गर्न प्राबिधिक टोली खटाउने भएको छ । हेटौंडा औद्योगिक क्षेत्रका पूर्बव्यवस्थापक राजकुमार मण्डलको संयोजकत्वमा गठन गरिएको समितिले गरेको अध्ययन अध्ययनअनुसार औद्योगिक प्रतिष्ठानले संझौता गरेको भन्दा २५ प्रतिशतसम्म बढी जमीन प्रयोग गरिरहेको पाईएको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।