सरकार परिवर्तन तत्काल हुदैन : एमाले उपाध्यक्ष ज्ञवाली
काठमाडौं, २५ जेठ ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले संविधान निर्माणपछि मात्र सरकार परिवर्तन हुने बताउनुभएको छ । अहिलेको प्रमुख आवश्यकता भनेको संविधान लेखन भएको बताउँदै उपाध्यक्ष ज्ञवालीले राष्ट्रिय विपतका समय सत्ताको खेलमा लाग्न नहुने बताउनुभयो । रेडियो अन्नपूर्ण नेपालको नियमीत विहानी कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले दलहरुबीच संविधानका मुख्य विवादित विषय राज्य पुर्नसंरचनामा सहमति नजिक पुगेकाले फाष्टट्रयाकबाट असारभित्र नयाँ संविधान जारी गर्ने तयारी भईरहेको जानकारी दिनुभयो । प्रमुख दलहरु सहमतिको अन्तिम चरणमा पुगेको बताउँदै ज्ञवालीले दलहरु अग्निपरीक्षाको घडीमा रहेकाले अहिलेको समयमा सबै एकढिक्का हुनका लागि मात्र राष्ट्रिय सरकारको विषय चर्चामा आएको दावी गर्नुभयो ।
संविधान निर्माणपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका पद बाँडफाँडमा समस्या आएको भए शीर्ष चार नेताबीच छलफल गरेर अघि बढ्न ज्ञवालीको सुझाव थियो । पुर्ननिर्माण र नवनिर्माणमा जुट्नुपर्ने अवस्था आएको भन्दै उपाध्यक्ष ज्ञवालीले अब नयाँ नेपाल निर्माणमा सबै दल, सरकार र जनता एकजुट हुनु पर्ने धारणा राख्नु भयो ।