Live Streaming

जनकपुर–जटही ६ लेन सडक खण्डको शिलान्यास

मनिका झा, जनकपुरधाम ।

वर्षौ देखि जर्जर अवस्थामा रहेको जनकपुर–जटही सडक खण्ड अन्तर्गत ६ लेनको सडकको शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिले आईतबार उक्त सडक खण्डको शिलान्यास गरेका हुन् ।

जनकपुर उपमहानगरपालिका २० देवपुरा रुपैठा स्थित जलाद खोलाबाट उत्तर तर्फ आयोजना गरिएको शिलान्यास कार्यक्रममा मन्त्री निधिले पुजापाठ गरि ६ लेनको सडक शिलान्यास गरेका हुन् । वर्षौदेखि जिर्ण रहेको जनकपुर–जटही सडक खण्ड व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत निर्माण हुन लागेको हो । जटही–जनकपुर–ढल्केवर सडक योजना अन्तर्गत कुल १३.७८ किलोमिटर लम्बाई रहेको यो सडक खण्ड निर्माणको लागि १ अर्ब २२ करोड ९७ लाख ५९ हजार ४७६ रुपैंया लागत अनुमान गरिएपनि निर्माण कम्पनीले ३२ प्रतिशत कम गरि ठेक्का कबोल गरेको जनाईएको छ ।

दुई चरणमा निर्माण हुने यो सडक खण्डको निर्माणका लागि निर्माण कम्पनीले ८३ करोड ६२ लाख ८३ हजार ४१ रुपैंयामा ठेक्का लिएको हो । सडक खण्डको गंगुली स्थित जलाद पुलबाट दक्षिण निर्माण गर्ने टेन्डर लामा डाँफे ढुकुचु र पुलबाट उत्तर लामा डाँफे गोल्डेन गुड नामक निर्माण कम्पनीले सडक निर्माणको टेन्डर पाएको जनाईएको छ । दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य अनुसार दुवै निर्माण कम्पनीबाट सम्झौता भईसकेको जनाईएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री निधिले सिमावर्ती भारतसंग जोडिने यस सडक खण्डको निर्माणले व्यवसायीक मुनाफा बढाउने र नेपाल भारत मैत्री सम्बन्धलाई अझ बलियो बनाउने बताएका थिए । अहिले देशका विकासका लागि भौतिक संरचना विकास अतिनै आवश्यक रहेकोले त्यस तर्फ इमान्दारिताका साथ आफु लागेको मन्त्री निधिले बताएका थिए । बजेट र अन्य सम्पूर्ण काम सरकारले गरिदिएपनि आयोजना सम्पन्न गराउन स्थानियवासीको सहयोग अपरिहार्य रहेकोले सबैले आफ्नो क्षेत्रको विकासका लागि आयोजना सफल बनाउन सहयोग गर्न निधिले आह्वान समेत गरेका थिए ।