Live Streaming

​भारतमा बस दुर्घटना, ५ नेपालीको मृत्यु

ललितबहादुर बुढा सुर्खेत ।  भारतमा बस दुर्घटना हुँदा ५ जना नेपालीको ज्यान गएको छ । शनिवार भएको उक्त दुर्घटनामा परेर अन्य ११ जना नेपाली यात्रु घाइते भएका छन् । भारतको राजस्थान प्रदेश अन्र्तगत गुजरातबाट रुपैडिया हुँदै नेपालगंजतर्फ आउँदै गरेको बस शनिवार विहान राजस्थान प्रदेशको उदयपुर जिल्लामा दुर्घटनामा परेको हो । तीव्र गतिका कारण बस मोडमा पल्टिएको थियो । दुर्घटनामा परी ज्यान गुमाएका मध्ये एक जनाको मात्र सनाखत भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका सुर्खेत लेखफर्साका ६ वर्षिय बालक संगम विकको मात्र सनाखत भएको छ । अन्य चार जनाको सनाखत हुन नसकेको र उनीहरु पनि सुर्खेतकै बासिन्दा भएको हुनसक्ने अनुमान गरिएको छ । सुर्खेतकै केही व्यक्तिहरुले सञ्चालन गर्दै आएको श्री पञ्चकोशी ट्राभल्सको उक्त बसमा सुर्खेतका नागरिकहरु घर आउनका लागि चढेका थिए । गुजरातमा रहेका हरी महरले चार जनाको सनाखत हुन नसकेको र उनीहरु सबै सुर्खेतका हुनसक्ने बताए । उनका अनुसार घाइते भएका ११ जनाको उदयपुरमा रहेको भूपाल राजकीय हस्पिटलमा उपचार भइरहेको छ । पाँच जना नेपालीले सञ्चालन गदै आएको बस दुर्घटनामा परेपछि सञ्चालकहरु पनि फरार भएका छन् । 
 बस दुर्घटनामा परेपछि बसमा रहेका अन्य नेपालीहरु स्थानीय धर्मशालामा अलपत्र परेका छन् । यस्तै केही यात्रुहरु अस्पतालमा रहेको महरले जानकारी दिए । बसका सञ्चालकहरुको खोजी भइरहेको र उनीहरु सम्पर्कमा आएपछि मात्र मृतक र घाइतेहरु आफन्तको जिम्मा लगाइने जानकारी भारतीय प्रहरीले दिएको छ । आइतवार मात्र थप मृतक तथा घाइतेको पहिचान हुने भारतीय प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने बारेमा एकिन नभएपनि अत्याधिक भार र तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । बसका चालक पनि फरार रहेका छन् । यता बस दुर्घटना भएको खबर पाएपछि सुर्खेत लेखफर्सामा रहेका आफन्तहरुमा रुवाबासी चलेको छ ।