Live Streaming

सभामुख नेम्बाङ्ग रुष्ट

तेजेन्द्र काफ्ले, काठमाडौं ।
भुकम्प र त्यसपछिको अवस्थाबारे छलफल गर्न अधिकांश संसदीय समितिहरु सक्रिय भएपछि सभामुख सुवास नेम्बाङ्गले सो बाहेकका क्षेत्रमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । राहत, पुर्नस्थापना र पुर्ननिर्माण सम्बन्धमा बिशेष समिति नै गठन गरी अगाडि बढेको अवस्थामा संसदका अन्य समितिहरुले हस्तक्षेप गर्न खोजेको भन्दै सभामुख नेम्बाङ्गले भुकम्पबाहेकका क्षेत्रमा छलफलमा केन्द्रित गर्न निर्देशन दिनुभएको हो ।

भुकम्पपछिको अवस्थाबारे अनुगमन गर्दै बिशेष समितिले सरकारलाई आवश्यक निर्देशन दिईरहेको अवस्थामा अन्य समितिले थप निर्णय गर्दै सरकारलाई निर्देशन दिनु आवश्यक नरहेको नेम्बाङ्गको बुझाईछ । भुकम्पपछिको अवस्था र सरकारको गतिबिधिबारे छलफल गर्न संसद अन्तरगतको अर्थ, अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति, उद्योग बाणिज्य तथा उपभोक्ता हीत सम्बन्ध, सामाजिक न्याय तथा मानवअधिकार, कृषि तथा जलस्रोत, बिकास, महिला, बालबालीका, जेष्ठ नागरिक र समाज कल्याण, राज्य ब्यवस्था, सार्वजनीक लेखा, वातावरण संरक्षण लगायतका समितिहरु सक्रिय थिए । ती समितिका पछिल्ला बैठकको निर्णयमाथि थप अध्ययन गर्दै सभामुख नेम्बाङ्गले महासचिव मनोहरप्रसाद भट्टराई मार्फत बैठकहरुमा भुकम्प र त्यसपछिको अवस्थाबारे छलफल नगर्न समिति सभापतिहरुलाई निर्देशन दिनुभएको संसद सचिवालय स्रोतले जनाएको छ ।

सभामुखको निर्देशन अनुसार सिंहदरवारमा बिहान बसेको बिकास समितिको बैठक भावी कार्यक्रम र कार्ययोजनामा केन्द्रित भएको थियो ।