महाबिपत्ति सामना गर्न बर्तमान सरकार सक्षम छ : सिचाई मन्त्री साउद
काठमाडौं, २२ जेठ ।
सिचाई मन्त्री एनपी साउदले प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको अहिलेको सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिएर महाविपत्तिको सामना गर्नु पर्ने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमित विहानी कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै मन्त्री साउदले दुइ तिहाइ बहुमत रहेको वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको स्वरुप दिएर भूकम्पले निम्त्याएको विपत्तिको सामना गर्दै संविधान निर्माणलाई पूर्णता दिनुपर्ने बताउनुभएको हो ।
राष्ट्रिय विपद परेका बेला सरकारको नेतृत्व परिवर्तन गर्दा मुलुकमा अस्थीरता उत्पन्न हुने उहाँको भनाई थियो । नेतृत्व चयन गर्दा राजनीतिक दलको प्राथमिकता सरकार गठन तर्फ केन्द्रित हुने र संविधान निर्माणको पहलकदमी ओझेलमा पर्ने उहाँको भनाइ छ । बर्तमान सरकारलाई विस्तार गरेर राष्ट्रिय सरकार बनाउने विषयमा सहमति नभए अर्को राष्ट्रिय सरकार गठन हुन नसक्ने बताउँदै सिचाई मन्त्री साउदले प्रतिपक्षी सरकारमा आए वर्तमान सरकारले पूर्णता पाउने बताउनुभयो ।
वैशाख १२ गतेको भूकम्पबाट निम्तिएको विपत्तिपछि प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले राष्ट्रिय सरकार गठनको आवश्यकता महसुस गर्नु मुलुकका लागि सकारात्मक भएपनि सत्तासाझेदार दल एमाले नै सरकार परिवर्तको खेलमा लाग्नु दुखद भएको उहाँको भनाइ छ ।