त्रिबिमा कक्षा सुरु
काठमाडौं, २२ जेठ ।
भुकम्पपछि बन्द रहेको त्रिभुवन बिश्वबिद्यालय मातहतका क्याम्पसहरुमा आजबाट पठनपाठन सुरु भएको छ । गत बैशाख १२ र २९ गतेको बिनासकारी भुकम्पपछि अधिकांश क्याम्पस भवनमा क्षति पुगेपछि पढाई सूरु हुन सकेको थिएन । काठमाडौं उपत्यकाका नेपाल कमर्श, ललितकला र पाटन क्याम्पसमा बढी क्षति पुगेको छ । ईन्जिनियरहरुले भत्किएका ती क्याम्पसका भवनमा रातो स्टिकर टाँसेका छन् । यस्तै अमृत साईन्स क्याम्पस, पद्यमकन्या क्याम्पस, पब्लिक युथका भवनमा पनि क्षति पुगेको छ । उपत्यका बाहिर बागलुङ्ग, लमजुङ्ग, गोरखा, पाल्पा लगायत जिल्लास्ति क्याम्पसहरुमा समेत क्षति पुगेको त्रिबिले जनाएको छ ।
त्रिबिका रजिष्टार देवराज अधिकारीले तत्कालका लागि बैकल्पिक क्याम्पसहरुको खोजी गरी पठनपाठन सुरु गरिएको जानकारी दिनुभयो । भुकम्पका कारण अधिकांश क्याम्पसका भवनमा क्षति पुगेपछि पठनपाठनमा भने समस्या देखिएको छ । कतिपय क्याम्पसहरुमा भने पाल टाँगेर पढाउन समेत समस्या भएको सम्बन्धित क्याम्पसहरुले बताएका छन् ।