Live Streaming

" एउटै पृथ्वी, सात अर्ब सपना : दिगो उपभोग हाम्रो चाहाना "

काठमाडौं, २२ जेठ ।
विश्व वातावरण दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । प्राकृतिक श्रोतहरुको संरक्षण र त्यसको दीगो उपयोग हुन नसक्दा वातावरणमा प्रतिकुल असर पर्दै गएकाले यसको संरक्षणमा जोड दिँदै संघ–संस्था र नेपाल सरकारको सम्बन्धी निकायले वातावरण सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

सन् १९७३ देखि पहिलो पटक विश्व वातावरण दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र द्वारा घोषित यो दिवस पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाउने गरिएको छ । संयुक्त राष्ट्र संघले तय गरेको " एउटै पृथ्वी, सात अर्ब सपना : दिगो उपभोग हाम्रो चाहाना  " भन्ने नारासहित मनाइन लागिएको हो । जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा वातावरणीय असुरक्षा बढिरहेको भन्दै यो दिवस नेपालका लागि पनि सान्दर्भिक भएको सरकारको भनाइ छ ।

दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री सुशील कोइरालाले वातावरणको नाराले संरक्षणको मर्मलाई आत्मसाथ गरेको बताउनु भयो । भूकम्पबाट श्रृजित पहिरो, हिमताल विस्फोटनको खतरा जस्ता कारणले बसोबासमा समेत असर परेकाले सबैले वाताबरण जोगाउन लाग्नुपर्ने प्रधानमन्त्रीको आग्रह छ । प्रधानमन्त्रीले आफू वरिपरिको वातावरण जोगाउँदै मानव जातिको साझा घर पृथ्वी जोगाउनेतर्फ लाग्नुपर्ने बताउनुभएको छ । नेपालमा पनि जलवायु परिवर्तन, वनजंगल विनास, बाढी, पहिरो जस्ता वाताबरणीय समस्या बढ्दै गएको प्रधानमन्त्रीको भनाइ छ ।