उपाधिका लागि सेरेना र लुसी भिड्ने
जेठ २२, एजेन्सी ।
अमेरिकी सेरेना विलिएम्स र चेकरिपब्लिककी लुसी साफारोभा, फ्रेन्च ओपन टेनिसको महिला तर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
गएराती भएको खेलमा स्विजरल्याण्डकी तिमिया वान्सेन्कीलाई पराजित गर्दै शीर्ष बरियाताकी सेरेना उपाधि नजिक पुगेकी हुन् । पहिलो सेट ४–६ ले गुमाएपनि बाँकी सेट ६–३ र ६–० ले आफ्नो पक्षमा पार्दै सेरेनाले फाईनलमा स्थान पक्का गरिन् । अर्को खेलमा सातौ बरियाताकी सर्बियन अन्ना ईभानोभिचलाई ७–५ र ७–५ को सोझो सेटमा पराजित गर्दै चेकरिपब्लिककी लुसी साफारोभा पनि फाईनलमा प्रवेश गरेकी छन् । फाईनल खेल भोली हुनेछ ।
पुरुष एकल तर्फको सेमिफाईनलमा भने आज शीर्ष बरियाताका नोभाक जोकोभिच र तेस्रो बरियाताका एण्डी मुरे तथा आठौं बरियाताका स्टेनिसलस वावरिन्का र १४ औं बरियाताका जो वेलफ्रेड सोङ्गाबीच प्रतिस्पर्धा हुनेछ ।