Live Streaming

अन्तरबस्तुमा सहमतिका थप समय माग्ने दलहरुको तयारी

काठमाडौं, २१ जेठ ।
संविधानका अन्तरबस्तुमा सहमतिको प्रयास स्वरुप छलफलमा रहेका दलहरुले संविधानसभा अध्यक्ष सुवास नेम्बाङ्गसँग थप समय माग्ने भएका छन् । संविधानसभा बैठक बस्न केही घण्टामात्र बाँकी रहँदा दलहरुले विवादित बिषयमा सहमतिका लागि थप समय अवश्यक रहेको भन्दै बैठक केही दिन पछि सार्न आग्रह गर्ने भएका हुन् । नेपाली कँग्रेस, एमाले, एकीकृत माओवादी र मधेशी मोर्चाबीच पछिल्लो समय विवादित अन्तरबस्तुमा सहमतिको प्रयास भईरहेको छ । यद्यपी प्रदेशको संख्या, सीमाङ्कन र नामाङ्कनका बिषयमा सहमति हुन नसकेपछि छलफल निश्कर्षमा पुग्न सकेको छैन ।

कँग्रेसको पदाधिकारी बैठक जारी रहँदा संविधानसभा बैठक स्थगित गर्ने बारे छलफल गर्न एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल वालुवाटार पुग्नु भएको थियो । दलहरुबीच सहमति हुन नसक्दा संविधानसभा बैठक यसअघि नै दुई पटक स्थगित भईसकेको छ ।

यसैबीच संविधानसभाको बैठक अपरान्ह तीन बजेका लागि बोलाईएको छ ।  संविधानका अन्तरबस्तुमा सहमति हुन नसक्दा भुकम्पपछि गत जेठ १ र १७ गते बोलाईएको बैठक स्थगित भएको थियो । दलहरु छलफलमा रहेको भन्दै संविधानसभा सचिवालयले आजका लागि कुनै कार्यसूचि तयार पारेको छैन ।