Live Streaming

मुख्य दलहरु निर्णायक बार्तामा

दीपक धिताल, काठमाडौं ।

प्रमुख दलहरुबीच आज संविधानका विवादित विषय र सरकार गठनका विषयमा छलफल हुँदैछ । मध्यान्न १२ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा दलहरुबीच नयाँ संविधान, नवनिर्माण र राष्ट्रिय सरकारबारे आज निर्णायक वार्ता हुने भएको हो । यी तीन वटै विषयलाई प्याकेजमा टुंग्याउन प्रमुख दलहरुले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग मागेको समय आजै सकिने भएकाले निर्णायक वार्ता गर्न लागिएको एमाले बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन प्रणालीबारे सहमति जुटिसकेको र अन्य विषयमा पनि सकारात्मक छलफल भइरहेकाले सहमति जुट्ने संभावना बढी छ ।

संघीयतामा एमाओवादीसहितको ३० दलीय मोर्चाले ६ देखि ८ प्रदेश बनाउने, नामाकरण गरेर जाने र विवादित प्रदेशको नाम प्रदेशसभाले राख्ने सर्त राखेको छ भने कांग्रेसले ६ र एमालेले सात प्रदेशको संघीयता प्रस्ताव गरेको छ । कांग्रेस र एमालेले भने प्रदेशको नामाकरण प्रदेशसभाले नै गर्नुपर्ने जनाउँदै आएको छ । हिजो बसेको एमालेको स्थायी कमिटी बैठकले आफ्नो पुरानै एजेण्डामा रहेर छलफल गर्नुपर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी मोर्चाका शीर्ष नेताहरुबीच नयाँ संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन लगातार छलफल भइरहेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले अहिलेसम्म सहमति नजुटेपनि छलफल भइरहेको बताउनुभयो । दलहरुबीच असारभित्रै नयाँ संविधान जारी गर्ने र राष्ट्रिय सरकार बनाएर नवनिर्माणमा लाग्ने विषयमा भने सहमति जुटिसकेको छ ।