सरकार हैन संविधान : साना दलहरुका सभासद्
काठमाडौं, २१ जेठ ।
संविधानसभामा प्रतिनिधित्व गर्ने केही साना दलका प्रतिनिधिहरुले बर्तमान अवस्थामा राष्ट्रिय सहमतिय सरकार गठनको बिषयलाई बेमौसमी बाजाको संज्ञा दिएका छन् । रेडियो अन्नपूर्ण नेपालको नियमित बिहानी कार्यक्रम फ्रन्टलाईनमा आज बिहान कुरा गर्दै उनीहरुले राष्ट्रिय बिपत ब्यवस्थापन र संविधान निर्माणलाई प्राथमिकतामा राख्न शीर्ष नेताहरुलाई सुझाएका छन् । सरकार र प्रमुख दलहरुले प्राथमिकताका बिषय छुट्याउन नसक्दा मुलुकमा एक पछि अर्को गर्दै राजनीतिक संकट उत्पन्न हुने गरेको उनीहरुको भनाई छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष रुक्मिणी चौधरीले बर्तमान नेतृत्वमा ईच्छाशक्ति नभएकै कारण संविधान निर्माण प्रक्रिया आझेलमा पर्दै गएको आरोप लगाउनुभयो ।
थरुहट तराई पार्टीका बरिष्ठ नेता गोपाल दहीतले राष्ट्रिय सरकार गठनको बिपक्षमा आफुहरु नभएपनि प्राथमिकतामा संविधान निर्माणलाई राख्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै फ्रन्टलाईनमै कुरा गर्दै स्वतन्त्र सभासद् अतहर कमाल मुसलमानले संविधान निर्माणलाई निश्कर्षमा पु¥याउन नदिने खेल स्वरुप दलहरुले सरकार गठनको बिषय उठाएको आरोप लगाउनुभयो ।
राष्ट्रिय बिपत ब्यवस्थापनमा सरकारको कामकारवाही प्रभावकारी नभएको तीनै जना नेताको भनाई थियो । राहत वितरण लगायतमा देखिएको चलखेल तत्काल अन्त्य गर्दै बर्षा सुरु हुनु अगावै पुनस्थापनाको काम सम्पन्न गर्नुपर्ने उनीहरुको माग छ ।