Live Streaming

दलहरुको आन्तरिक परामर्श जारी


जेठ २०, काठमाडौं । छोटो प्रकृया अपनाएर असार मसान्त सम्ममा संविधान जारी गर्ने बारे समझदारी भए पनि संविधानका मुख्य अन्तरबस्तुमा सहमति जुटाउन नसकेका दलहरु फेरि एकचोटी आन्तरीक गृहकार्यमा जुटेका छन् । संघीयताको मोडालिटी र मिश्रित निर्वाचन प्रणालीमा समानुपातिक र प्रत्यक्षको अनुपातका बारेमा दलहरुबीच कुरा मिलिसकेको छैन ।

त्यसैले आज छुट्टा छुट्टै र बिचार मिल्ने पार्टीहरुबीच छलफल गरेर एउटै धारणा बनाउने र भोलि बस्ने चार पक्षिय छलफलमा सहमतिको प्रयास गरिने ती दलसँगसम्बद्ध नेताहरुले बताएका छन् । त्यसैको प्रयास स्वरुप कंग्रेस पदाधिकारी बैठक बिहान बसिसकेको छ भने, आजै कंग्रेस र एमालेबीच पनि छलफल हुँदैछ ।

साँझ एमालेको स्थायी समितिको बैठक सकिएलगत्तै कंग्रेससँग छलफल गर्ने एमाले महासचिव इश्वर पोखरेलले बताउनुभयो । यस्तै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टी भित्र र बाहिरका नेताहरुसँग परामर्श गरिरहनुभएको छ । दाहाल निकट स्रोतका अनुसार आज हुने भनिएको आफ्नो नेतृत्वको मोर्चाको बैठक नै स्थगित गरेर उहाँ ब्यक्तिगत परामर्शमा लाग्नुभएको हो । “मोर्चाभित्रै संविधान निमार्णको बिधि प्रकृया, अपनाउन सकिने लचकता र छोड्न नहुने अडानका बारेमा फरक फरक धारणा आउन लागेपछि दाहाल ब्यक्तिगत परामर्शमा ब्यस्त हुनुभएको हो ।”– स्रोतले रेडियो अन्नपूर्ण नेपालसँग भन्यो ।  

प्रमुख राजनीतिक दलहरू ६ देखि ८ प्रदेश निर्माण गर्ने गरी नयाँ संविधानका विवादित विषय टुंग्याउने बिषयमा केन्द्रित सहमति भए पनि प्रदेश निमार्णको आधार, नामाङ्कन र सिमाङ्कनको बारेमा सहमतिमा आइसकेका छैनन ।