काँग्रेसद्वरा दलीय छलफलबारे समीक्षा \ एमालेसँग थप छलफल गर्दै
काठमाण्डौं, २० जेठ ।
प्रधानमन्त्री सुशील कोईरालाले दलहरुबीच पछिल्लो समय जारी छलफल सकारात्मक भएकाले चाडै सहमतिमा पुगिने बिश्वास ब्यक्त गर्नुभएको छ । नेपाली कँग्रेसको वालुवाटारमा आज बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै सभापति समेत रहेका प्रधानमन्त्री कोईरालाले राज्यपुनसंरचना र निर्वाचन प्रणालीमा सहमति नजिक पुगेको बताउनुभएको हो । बैठकपछि सहमहामन्त्री पूर्णबहादुर खड्काले ६ देखि ८ प्रदेश बनाउनेबारे दलहरुबीच छलफल केन्द्रित रहेको प्रधानमन्त्री कोईरालाले बैठकलाई जानकारी गराउनुभएको बताउनुभयो ।
झण्डै साढे तीन घण्टा चलेको बैठकमा संविधानका विवादित अन्तरबस्तुमा सहमतिको प्रयास स्वरुप भईरहेका दलीय बैठकबारे समीक्षा समेत भएको थियो । भोली बिहान ९ बजे चार राजनीतिक शक्तिबीच छलफल हुनु अघि आधिकारिक धारणा तय गर्न कँग्रेसले आन्तरिक छलफल गरेको हो ।
यसैबीच ७ प्रदेशको प्रस्तावसहित ९ बुँदे संयुक्त अवधारणा अघि सारेका कँग्रेस र एमालेबीच आजै साँझ छलफल हुदैछ । एमाले स्थायी समिति बैठकले बढीमा ५ प्रदेशमात्र बनाउन सकिने निर्णय गरेपछि कँग्रेसले आज साझा अवधारणाबारे थप छलफल गर्न लागेको हो । अवधारणा अन्तिम नभएको बताउदै आएका दुई दलबीच नयाँ धारणा सहित अगाडि बढ्ने बारे छलफल हुने एक नेताले बताए ।