भक्कानिदै राहत लिदै मृतकका परिवार
देवचन्द्र भट्ट, नुवाकोट ।
गत वैशाख १२ गते महाभुकम्प गएको वुधवार ३८ दिन पुगेको छ । नुवाकोटमा घर भत्केर ज्यान गुमाएका परिवाहरु तंग्रिन नपाउंदै सरकारले उपलव्ध गराएको राहत रकम लिन आंसु खसाल्दै विदुरमा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिको कार्यालयमा पुगेर रकमको चेक वुझिरहेका छन् ।
सरकारले प्रति मृतकका नाममा ४० हजार किरियाखर्च र परिवारका लागी राहत स्वरुप प्रति मृतकका घर १ लाख गरि १ लाख ४० हजार उपलव्ध गराउदै आएको छ । जिल्ला दैवि प्रकोप उद्धार समिति मार्फत खर्च हुने रकम प्रशासनले भुकम्पबाट मरेका १ हजार ८६ मध्ये ६ सय १ घरपरिवारका सातसय ५० जना मृतका परिवारलाई राहत स्वरुपको रकम दिइसकेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए । वुधवारसम्म समितिले नौ करोड रुपैया वितरण गरेको छ । सवै मृतक एकहजार ८६ जनाकै परिवारलाई राहत दिन पुग्ने रकम रहेको निरौलाल वताए ।
महाभुकम्पमा बालबालिका गुमाएका अभिभावक भने आफ्ना सन्तानका नाममा कोष स्थापना गर्ने वताएका छन् । भुकम्पबाट मृत्यु हुनेमा ६२ प्रतिशत बालबालिका तथा महिला रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रहरी रिपोर्ट र मुचुल्काका आधारमा पीडितलाई रकम वितरण गरिएको बताए । राहत वितरण प्रभावकारी र गलत व्यक्तिका नाममा पुग्न नसकोस भन्ने उद्धेश्यले वैक खाता मार्फत वितरण गरिएको छ ।
वैकले भुकम्प पीडितका लागी सुन्य मौज्दातमा खाता खोल्ने व्यवस्था मिलाएको छ । आफन्त गुमाउनुको पीडा राहत वुझ्न आएकामा प्रष्ट देखिन्थ्यो । उनीहरुले पीडा लुकाउन खोजी रहेपनि भावनामा चोट पुगेको प्रष्ट देखिन्थ्यो ।
ऋण काटेर आफ्नो धार्मिक संस्कार अनुसार काजक्रिया गरेका पीडितहरुले राहत वापत प्राप्त रकम मृतकहरुको वर्ष दिन सम्मको काममा खर्चने काहुलेका हर्कसिह तामाङले बताए । भुकम्पबाट आमा चर्मानी तामाङ गुमाएका हर्कसिहले काजक्रियाबाट वचेको रकम गाउंको सामाजिक काममा लगाउने बताए ।
उता, दुर्गम लिखु गाविस वडा नंं १ का ८७ वर्षिया पार्वती पौडेल गत वैशाख १२ गते महाभुकम्पमा परि ज्यान गुमाइन् । सरकारले मृतक व्यक्तिका नाममा आफन्तलाई दिने राहत उनका छोरा नवराज पौडेलले मन धमिलो र अमिलो वनाउदै उद्धार समितिवाट एकलाख ४० हजार रुपैयाको चेक वुझे ।
ओखरपौवाका वेदनिधी ढुङ्गानाले पनि भुकम्पवाट मृत्युवरण गरे । उनको राहत उनका सहोदर भतिजा कृष्ण ढुङ्गानाले प्राप्त गरे । भुकम्पबाट पीडामुक्त हुन नसकेका मृतकका आफन्त सेतो पहिरनमा राहत लिन एक सातादेखि सदरमुकाम विदुर आउदा कसैको मन शान्त र अनुहारमा चमक थिएन् ।
मान्छे मरेर त गईसक्यो, वहा“को नाममा आएको रकमको कुनै अर्थ छैन । तर, पनि मृतकका आफन्तहरुले रचनात्मक काममा प्रयोग गर्न सक्ने त्यसले छुट्टै अर्थ राख्ने विश्वास पीडितहरुको छ ।
घर भएको स्थान भुकम्पले अहिले समथर र लमतन्न छ । अर्को घर वनाउन ऋण लिने योजनामा रहेका नवराज पौडेलले आमाको नाममा आएको रकम भने शिक्षा क्षेत्रमा खर्चने वताए । वागेश्वरी गाविस वडा नंं ९ सिम्लेकी २ वर्षिया छोरी कश्मिरा गुमाएकी कुमारी तामाङले छोरीको नाममा पढ्न नसकेका बालबालिकाको नाममा छात्रवृत्ति कोष निर्माण गर्ने बताईन् ।