महाकालीमा पौडेलको टोलीद्वारा ३४ घरटहरा निर्माण
देवचन्द्र भट्ट, नुवाकोट ।
महाभुकम्प प्रभावित विभिन्न जिल्लामा पीडितहरुका लागि अस्थायी घर टहर निर्माण गर्ने अभियानमा क्रियाशील नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको टोलीले नुवाकोटको दुर्गम महाकाली गाविसमा अस्थायी घर निर्माण गरेको छ । पौडेलले घोषणा गरेको पांचसय अस्थायी घर निर्माण गर्ने अभियान अन्र्तगत महाकाली गाविस वडा न.. ५ सिलामेमा ३४ वटा अस्थायी घर तथा टहरा निर्माण कार्य सम्पन्न गरेका छन् । टोलीले नुवाकोटको महाकाली गाविसमा ३४ वटा अस्थायी घर टहरा निर्माण गरेको नेता पौडेलले वताएका छन् ।
स्थानीय तवरबाट नै काठपात तथा बाँस उपलब्ध गराई टहरा निर्माण गरिएको कांग्रेस युवा नेता पौडेलले बताए । टहरा निर्माणका लागि उक्त टोलीलाई सनत अधिकारीले जस्तापाता उपलब्ध गराउनुभएको थियो । उक्त टोलीले जोखिम अवस्थामा रहेका ७ वटा घरसमेत भत्काएको छ । इन्जिनियर तथा प्राविधिकसहितको डेढ सय जनाको टोलीले भूकम्पपीडितहरुका लागि अस्थायी टहरा निर्माण गर्न प्रभावित क्षेत्रमा गएको थियो ।
पहिलो पटक गोरखाको प्रभावित क्षेत्र पुगेको पौडेल नेतृत्वको स्वयंसेवी टोलीले पछिल्लो समय नुवाकोटमा अस्थायी आवास निर्माण गरेको हो । स्वदेश तथा विदेशका आफ्ना सहयोगीहरुबाट आर्थिक संकलन गरी पौडेलले ७० लाख भन्दा बढीको राहत सामग्रीसमेत वितरण गरेका छन् ।
पौडेलले दाता, स्थानीय बासिन्दा तथा शुभचिन्तकको सहयोगमा भूकम्प पीडितहरुका लागि ५ सय अस्थायी घर टहर निर्माण गर्ने घोषणा गरी प्रभावित क्षेत्रमा लागेका थिए । उनाको टोलीले गोरखा, तनहुं, सिन्धुपाल्चोक, रामेछापमासमेत गरि तीनसय ९० अस्थायी घर निर्माण गरिसकेको छ ।