दलहरुको सहमति निर्वाचन प्रणालीले अड्कायो
काठमाण्डौं, जेठ १९ । निर्वाचन प्रणाली र राज्य पुनसंरचनाका बिषयमा सत्तापक्षीय दल र एमाओवादीको मोर्चाबीच लेनदेन मिल्न नसकेपछि आज बसेको दलिय बैठक निष्कर्षविहिन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा मोर्चाले ५० प्रतिशत मिश्रित र ५० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेको थियो ।
तर कंग्रेस र एमालेले राज्य पुनसंरचनाका बिषयमा कुरा नमिलेसम्म अरु बिषयमा कुरै हुन नसक्ने जवाफ दिएपछि आज कुनै पनि बिषयमा कुरा नमिलेको बैठक स्रोतले जनाएको छ । कंग्रेस एमालेले ८० प्रतिशत प्रत्यक्ष र २० प्रतिशत समानुपातिक निर्वाचन पद्धति हुनुपर्ने बताउँदै आएका छन् ।
“राज्य पुनसंरचनामा कुरा मिल्यो भने निर्वाचन प्रणालीमा हामीलाई मोर्चाको प्रस्ताव स्वीकार्न गाह्रो छैन् ।” स्रोतले रेडियो अन्नपूर्ण नेपालसँग भन्यो “तर प्रदेशबारेको विवादमा एकमुष्ट सहमति नभएसम्म अरु बिषयमा सहमति हुँदैन ।” कांग्रेस नेता पूर्णबहादुर खड्काले पनि आज राज्य पुनसंरचनाका बिषयमा मात्रै कुरा हुने भनिए पनि सबै बिवादित बिषयमा छलफल भएको र कुनै पनि बिषयमा सहमति नभएको बताउनुभयो ।
शिर्ष नेताहरु आआफ्नो अडानबाट पछि नहटेपछि उनीहरुले भोलि दिनभरी आन्तरीक छलफल गर्ने र पर्सी चारपक्षिय बैठक बसेर सहमति गर्ने समझदारी गरेका छन् । यद्यपी बैठकपछि मधेसी मोर्चाका संयोजक विजय गच्छदारले निर्वाचन प्रणालीका विषयमा भने सहमत भएको बताउनुभयो ।
यसैबीच, राज्य पुनसंरचना हुँदा सात प्रदेशसम्म बनाउन सकिने कांग्रेस एमालको एउटै राय छ भने एमाओवादीले संख्यामा घटबढ गर्न सकिने भए पनि संघीयतको आधार पहिचानलाई नै बनाउनुपर्ने अडान छोडिसकेको छैन । उता मधेशवादी दलहरुले झापा, मोरङ, सुनसरी र कैलाली, कञ्चनपुरलाई तराइबाट अलग्याउन नहुने राय राख्दै आएका छन् ।