राष्ट्रिय सरकार गठनको बहस एक महिना पछि सर्यो / संविधान निर्माण प्राथमिकतामा
प्रकाश पाठक, काठमाडौं ।
प्रमुख चार राजनीतिक शक्तिबीच संविधान निर्माणलाई प्राथमिकतामा राख्दै सहमतीय सरकार गठनको बहसलाई तत्काल थाँती राख्ने सहमति भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आज बिहान बसेको नेपाली कँग्रेस, एमाले, एकीकृत माओवादी र मधेशी मोर्चाबीच भएको बैठकमा संविधानका विवादित अन्तरबस्तुमा सहमति खोज्दै एक महिना भित्र संविधान जारी गर्ने सहमित भएको हो ।
बैठकपछि मधेशी मोर्चाका संयोजक समेत रहेका फोरम लोकतान्त्रीकका अध्यक्ष बिजयकुमार गच्छदारले राजनीतिक समस्या समाधानका लागि गंभिर रुपमा छलफल गर्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – " केवल गफ मात्र नभई कामकाजी ढंगले नै राजनीतिक समस्या समाधान गर्दै सहमतिबाट एक महिना भित्र संविधान घोषणा गरेर टुङ्गो लगाउने गरी छलफल अगाडि बढाउने छौं । संविधान घोषणा भएपछि मात्र मुलुकमा राजनीतिक एकता कायम हुन्छ । " अध्यक्ष गच्छदारले भुकम्पले निम्त्याएको बिपत्ति सामना गर्न, ब्यवस्थापन गर्न र पुननिर्माणमा एक जुट भएर तीन चार बर्षसम्म अगाडि बढ्न राजनीतिक एकताले थप मद्दत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
संघियता लगायत मुख्य बिबादित बिषयमा सबै दलहरुले अधिकतम लचकता अपनाउदै सहमती गर्ने बिषयमा पनि आजको बैठकमा छलफल भएको थियो । बिबादित बिषयहरु माथिको सहमती प्रयासलाई भोली पनि निरन्तरता दिने बैठक पछि कग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उपसभापति पौडेलले विवादित बिषयहरुलाई टुङ्गो लगाउदै अगाडि बढ्ने वा थाँती राखेर संविधान जारी गर्ने भन्ने दुवै बिकल्पमा छलफल जारी रहेको बताउनभयो ।
आजको बैठकमा भुकम्पपछिको पुर्ननिर्माणमा सबै दलहरुले सक्रियता देखाउदै संबिधान निर्माणलाई पहिलो प्राथमिकता दिन शीर्ष नेताहरु एकमत भएका हुन् । दहलहरुबीच आज भएको सहमतिसँगै भुकम्पपछि चर्चाको शिखरमा रहेको राष्ट्रिय सरकार गठनको बहस एक महिनाका लागि पछि धकेलिएको छ ।