Live Streaming

पर्साका ग्रामिण भेगमा औषधिको अभाव

क्रान्ति साह, वीरगञ्ज ।
पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा दुइ सातादेखि औषधीको अभाव भएको छ । बिरामीलाई सरकारले निशुल्क रुपमा उपलब्ध गराउने औषधि समेत अधिकांश क्षेत्रमा छैनन् । मुडली, लंगडी, हरिहरपुर, धोबिनी, हरिहरपुर विर्ता, मिर्जापुर, जानकीटोला, भेडियारी, बिरन्चीबर्वा, मसिहानी, घोडदौर पिपरा, भिखमपुर, सेढवा, शंकरसरैया लगायत स्थानमा रहेका उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा औषधीको अभाव भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । ग्रामीण क्षेत्रका सरकारी स्वास्थ्य संस्थाहरुमा अहिले सिटामोल र एमोक्सोस्लिन बाहेक अरु सबै औषधी सकिएकाले बिरामीहरु मर्कामा परेका छन् ।

सरकारले उपलब्ध गराउने औषधी सकिएकाले बिरामीहरुलाइ रित्तै हात पठाउन बाध्य भएको स्वस्थ्य चौकी मुडलीका इन्चार्ज योगेन्द्र चौरसीयाले बताउनु भयो । सरकारी स्वास्थ्य संस्थामा निशुल्क औषधी नपाएपछि बिरामीहरु नीजी क्लिनिक र औषधी पसलहरुबाट औषधी किन्न बाध्य भएका छन् । सरकारले बिरामीहरुलाइ निशुल्क रुपमा बाडनका लागि हरेक उपस्वास्थ्य चौकी र स्वास्थ्य चौकीमा २४ तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा ३६ प्रकारका औषधीहरु  पठाउने गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख अरुण कुमार महत्तोले भने ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा औषधी सकिएको जानकारी आएको भन्दै ती स्वास्थ्य संस्थाहरुमा दुइ तीन दिन भित्रै औषीधी पठाइने बताउनु भयो ।