एमालेको अभियान के भयो एक हप्तामा ?
दीपक धिताल, काठमाडौं ।
विनाशकारी भूकम्प र त्यसपछिका ठूला पराकम्पनका कारण विपत्तिमा परेका भूकम्प पीडितका लागि एमालेले राहत तथा पुर्नस्थापनासहितको एक महिने अभियान सुरु गरेको एक हप्ता पुगेको छ । भूकम्पबाट सबैभन्दा बढी प्रभावित २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा जारी एक महिने अभियानमा एमालेले आफ्ना दश हजार स्वयंसेवकलाई राहत तथा पुर्नस्थापनाको काममा खटाएको छ । भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण अभियानमा लागेको एमाले कार्यकर्ताहरुले एक हप्तामै एक हजार भन्दा बढी अस्थायी आवास निर्माण गरेका छन् ।
गत आइतबार राजधानीको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममार्फत् अभियान सुरु गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानका संयोजक गोकर्ण विष्टलाई हेल्मेट र औजार बक्स दिएर विदाइ गर्नुभएकोे थियो । अभियानमा रहेका स्वयंसेवकहरुले दुई हजारभन्दा बढी क्षतिग्रस्त घरबाट सामग्री निकालेर व्यवस्थापन गरेको एमालले जनाएको छ । अभियानको अनुगमनका लागि केन्द्रीय पदाधिकारीहरु नै फिल्डमा खटिएका छन । एमाले स्वयंसेवकहरुले एक हप्तामा गरेका निर्माण, पुनर्निर्माण कार्यको सम्बन्धमा सोमवार दिउँसो बल्खुमा पत्रकार सम्मेलन गरी जानकारी गराउने पार्टी सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराइले जानकारी दिनुभयो ।