बर्तमान नेतृत्वबाट मुलुक सम्बृद्ध हुदैन : डा केसी
दीपक धिताल, काठमाडौं ।
राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसीले बर्तमान राजनीतिक नेतृत्वबाट मुलुक समृद्ध मार्गमा हिड्न नसक्ने बताउनुभएको छ । सत्तामा बसेर मात्र काम गर्न सकिन्छ भन्ने सोच हाबी भएकाले राजनीतिक दलहरु सत्तामा पुग्न मात्र मरिहत्ते गरेको उहाँको आरोप छ ।
रेडियो अन्नपूर्ण नेपालको नियमित विहानी कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै डा केसीले सत्तामा पुगेपछि नेताहरु जनताका लागि भन्दा आफु र आफन्तलाई हेर्ने परिपाटी विकसित भएकाले उनिहरुप्रतिको विश्वासमा कमी भएको बताउनुभयो । भुकम्पले निम्त्याएको संकट सामना गर्न राष्ट्रिय संकल्प गरेर दलहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बेलामा दलहरुले आफ्ना आफ्ना कार्यकर्ताहरु परिचालन गरेर विभाजित राजनीतिक चरित्र देखाएको उहाँको भनाइ छ ।
संविधान निर्माण र भुकम्पपछिको नवनिर्माणका लागि राष्ट्रिय सरकारको आवश्यकता परेपनि दलहरुको चरित्रले गर्दा उनिहरुले काम गर्नेमा शंका रहेको बताउनुभयो । राजनीति विश्लेषक डा केसीले राहतका नाममा भ्रष्टाचार मौलाएको भन्दै प्रधानमन्त्रीले आफ्नै क्याविनेटका सदस्यलाई कारवाही गरेर जनतालाई प्रजातन्त्रको आभास दिन आग्रह गर्नुभयो ।