Live Streaming

बन्द शैक्षिक संस्था ३६ दिन पछि खुले

काठमाडौं, १७ जेठ ।
भुकम्पपछि बन्द भएका शैक्षिक संस्थाहरु आजबाट सञ्चालन भएका छन् । गत बैशाख १२ र २९ गते आएको बिनाशकारी भुकम्पले करिब ८ हजार बिद्यालयका ३० हजार कक्षाकोठामा क्षति पु¥याएपछि शिक्षा मन्त्रालयले हिजोसम्म कक्षा सञ्चालन नगर्ने निर्णय गरेको थियो । आजबाट बिद्यालय खुल्ने भएपनि अधिकांश शैक्षिक संस्थाले बिद्यार्थीहरुलाई मनोपरामर्श दिने तयारी गरेका छन् ।  
कक्षा सञ्चालन गर्न भुकम्प प्रभावित बिभिन्न १४ जिल्लामा शिक्षा मन्त्रालयले यसअघि नै पत्रचार गरिसकेको छ भने आवश्यक पूर्वाधार निर्माण भए नभएको बारे बारम्बार अनुगमन समेत गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले बारम्बारको अनुगमन र तयारी पछि आजबाट शैक्षिक संस्था खुलाउने तयारी भएको जानकारी दिदै पठनपाठन नै सुरु गर्नुपर्ने पक्षमा भने मन्त्रालय नभएको बताउनुभयो ।
भुकम्पपछिको त्रास कम गर्दै बिद्यार्थीहरुको एक शैक्षिक बर्ष खेर जान नदिन आजबाट बिद्यालय खुलाउनु आवश्यक रहेको बताउदै प्रवक्ता लम्सालले बिद्यालय सञ्चालन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, बिद्यार्थी लगायत सम्बन्धित सरोकार पक्षलाई सचेत रहँदै बिद्यालय सञ्चालन गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो ।