स्थानीय जातका धानबाली लोप हुने खतरामा
छेटु शेर्पा, संखुवासभा ।
परम्परागत रुपले खेती गरिँदै आएको स्थानीय जातका धानहरु सङ्खुवासभामा लोेप हुने खतरा बढेको छ । जिल्ला कृषि विकास कार्यालय संखुवासभाले दिएको जानकारी अनुसार स्थानीय जातको अट्टे, बेलकुटी, दुधे, टाकमारु, न्याउली, मनसरो, ठूलोधान, कृष्णभोग आदि जातका धान लोप हुँदै गएका हुन् । विकसित नयाँ जातका धानबाट उत्पादन बढी हुनेभएपछि किसानले स्थानीय जातका धान रोप्न छाडेका हुन् । स्थानीय धान एकमुरी आउनेमा नयाँ जातको तीनमुरीसम्म फल्ने भएपछि रसिलो र स्वादिलो लोकलको मोह किसानले त्यागेको अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष डम्बर श्रेष्ठको भनाइ छ ।
सामुदायिक वन उपभोत्ता महासंघका जिल्ला सचिव छिन्डुम भोटे परम्परागत जातका खाद्यन्नबाली लोप हुनबाट सरकारले जोगाउनु पर्ने बताउनुहुन्छ । लोपोन्मुख अन्नबाली तथा स्थानीय जैविक श्रोतलाई संरक्षण एवं अभिलेखीकरण गरेर नेपालीको अधिकार स्थापित गराउने कानुन र कार्यक्रम राज्यले ल्याउन नसक्दा हाम्रो देशको अधिकार गुम्ने खतरा रहेको भोटेले बताउनुभयो । उहाँ विकसित जातका बालीहरु भित्रिनु राम्रै कुरा हो तर यहाँको हावापानीमा आफैं उत्पति भएका जातलाई नासिन तथा चोरिनबाट बचाउन राज्य अगाडि बढ्नै पर्छ ।