तत्काल गाविस सचिव नियुक्त गर्न सरकारको जिल्ला प्रशासनलाई निर्देशन
जेठ १३, काठमाण्डौ । सरकारले गाविस सचिव नभएका भुकम्पप्रभावित क्षेत्रहरुमा तत्काल गाविस सचिव नियुक्त गर्न सर्कुलर जारी गरेको छ । संसदको राष्ट्रिय विपत ब्यवस्थापन निर्देशन तथा अनुगमन विशेष समितिको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले यो जानकारी गराउनुभएको हो ।
बैठकमा कोइरालाले गाविस सचिव नभएका ठाउँमा तत्काल नियुक्त गर्न निर्देशन दिइएको र जतिसक्दो छिटो ती गाविसहरुमा सचिव नियुक्त हुने बताउनुभयो । यस्तै कोइरालाले सरकारले भुकम्प पिडितलाई बेवास्ता गरिरहेको भन्ने आरोप निराधार भएको बताउँदै सरकारले युद्धस्तरमा काम गरिरहेको जानकारी पनि दिनुभयो ।
उहाँले गाविस र नगरपालिकामा सर्बदलिय संयन्त्र बनाउने काम भइरहेको भन्दै एक दुई दिनमा सबैतिर संयन्त्र बनिसक्ने जानकारी दिनुभएको छ ।
यसैबीच सरकारले औपचारिक रुपमै समितिमा पत्र पठाएर राजनीतिक संयन्त्र गठनको जानकारी गराएको छ । मुख्य सचिव लिलामणी पौडेलले पत्र पठाएर संयन्त्र गठनको जानकारी गराउनुभएको समितिका सभापति एबम् सभामुख सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । हिजो बसेको समिति बैठकले संयन्त्र गठनबारे दुई दिनभित्र जानकारी दिन सरकारलाई फेरि निर्देशन दिएको थियो ।