Live Streaming

यसकारण राष्ट्रिय सरकार आवश्यक छ : गोकर्ण बिष्ट

दीपक धिताल, काठमाडौं ।
एमाले सचिव गोकर्ण विष्टले बर्तमान सरकारले भुकम्पले निम्त्याएको संकट सामना गर्न नसक्ने भएकाले राष्ट्रिय सरकार आवश्यक भएको बताउनुभएको छ । रेडियो अन्नपुर्ण नेपालको नियमित विहानी कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै बिष्टले भुकम्पका कारण आएको विपत्तिलाई उचित व्यवस्थापन तथा संविधान निर्माणलाई अघि बढाउन राष्ट्रिय सहमतिय सरकारको विकल्प नभएको बताउनुभएको हो ।

सहमतिय सरकार गठनका लागि पहिला दलहरु तयार हुनुपर्ने बताउँदै नेता बिष्टले एमाले नेतृत्व गरेर अघि बढ्न सक्षम रहेको बताउनुभयो । भुकम्प पीडितका लागि पार्टीले सञ्चालन गरेको राष्ट्रिय स्वयमसेवक परिचालन अभियानका संयोजक समेत रहेका नेता बिष्टले अहिले एमालेका १० हजार नेता कार्यकर्ताहरु भूकम्पपीडितको पुनस्थापना तथा राहतका लागि श्रमदान गर्न प्रभावित गाउँगाउमा रहेको बताउनुभयो । कम्तीमा दुई वर्षसम्म टिक्ने अस्थायी आवास बनाउन सहयोग गर्ने अभियानको उद्देश्य रहेको बताउँदै नेता विष्टले भत्केकै घरको ढुंगा, काठपात लगायत सामाग्री प्रयोग गर्दै रातदिन खटिएर निर्माण सम्पन्न गर्ने बताउनुभयो ।

जेठ १० देखि सुरू भएको अभियानमा १० हजार केन्द्रीकृत शक्ति परिचालन गरिएको र लमजुङदेखि ओखलढुंगासम्मका पहाडी जिल्ला, मकवानपुर र सिन्धुलीसहित १७ जिल्लाका पचास निर्वाचन क्षेत्रमा केन्द्रीय टोली पुगेर काम जारी राखेको विष्टको भनाइ छ । प्रत्येक प्रभावित क्षेत्रमा पुग्ने टोलीमा ओभरसियर, सबओभरसियर, घर निर्माणबारे तालिमप्राप्त प्राविधिक, स्वास्थ्य प्राविधिक पनि गाउँ पुगेर मनोवैज्ञानिक परामर्श दिइरहेको उहाँले बताउनुभयो ।