परामर्श समितिको बैठकमा कार्यपत्रमाथि छलफल हुदै
दीपक धिताल, काठमाडौं ।
प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा गठित उच्चस्तरिय राष्ट्रिय पुननिर्माण परामर्श समितिको बैठक आज पनि बस्दैछ । बैठकमा हिजो प्रस्तुत भएका बिभिन्न तीन वटा कार्यपत्रमाथिको छलफल आज पनि जारी रहनेछ । हिजोको बैठकमा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने झण्डै ३० जनाले आ–आफ्नो धारणा राखेका थिए । सबै सदस्यले बोल्ने पालो नसकिएका कारण समितिको बैठक आज अपरान्ह २ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
आजको बैठकमा गृह मन्त्रालयद्वारा विनासकारी भूकम्प पछिको उद्धार राहत कार्य तथा हालसम्मको रिपोर्ट प्रस्तुत गर्ने, पुनर्निर्माणका लागि राष्ट्रिय योजना आयोगको तयारी र आवश्यकताबारे उपाध्यक्षले प्रस्तुति दिनु हुनेछ । त्यसैगरी राष्ट्रिय विपद्को व्यवस्थापन गर्न विद्यमान संरचना र त्यसमा प्रस्तावित सुधारका विषयमा मुख्य सचिवले छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । आजको बैठकमा राजनीतिक दलका नेताहरुले धारणा र समितिले उनीहरुसँग परामर्श गर्ने कार्यक्रम छ ।
यसअघि हिजोको बैठकका सहभागीले भूकम्पबाट भएको क्षतिको पुननिर्माणका लागि अलग्गै संरचना बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले भूकम्पका कारण अरबौ रुपैयाँको क्षति भएको भन्दै अहिले कायम रहेका सरकारी संयन्त्रबाट पुननिर्माण सम्भव नरहेको बताएका थिए । बैठकमा संविधानसभामा रहेका सबै दलका नेता, पूर्वप्रधानमन्त्री, मन्त्री, सचिव, राष्ट्रिय योजना आयोगका पदाधिकारी, आयोगका पूर्व उपाध्यक्ष, अर्थशास्त्री, समाजशास्त्री, पूर्वाधार विज्ञ, कलाकार लगायत एक सय जनाभन्दा बढीको सहभागीता थियो । उनीहरुले ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माणका लागि अझै सरकारी अठोट नआएकोमा प्रधानमन्त्री समेत रहेका संयोजक कोइरालाको ध्यानकर्षण गराएका थिए ।