पराकम्पन जाने क्रम रोकिएन, हावाहुरीले जनजीवन थप त्रसित
काठमाडौं, १३ जेठ ।
विनासकारी भुकम्प गएको एक महिना वितिसक्दा पनि निरन्तररुपमा त्यसको पराकम्पन जाने क्रम जारी छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार गएराती १० बजेर ५२ मिनट जाँंदा रसुवा केन्द्र बिन्दु भएर ५ म्याग्निच्युडको पराकम्पन गएको छ । ५ म्याग्निच्यूटको सो भूकम्पको धक्का काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ्ग, गोर्खा, नुवाकोटलगायतका जिल्लामा मशहुस गरिएको थियो ।
गत बैशाख १२ बजे बिहान ११ बजेर ५६ मिनेट जाँदा गएको शक्तिशाली भूकम्पपछि अहिलेसम्म सानाठूला गरी कम्तीमा ३० हजार पटक भूकम्पको कम्पन महशुस गरिएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार हिजोमात्रै ४ म्याग्निच्युड माथिका ५ ओटा पराकम्प मापन भएको छ । ठुलो भूकम्प पछि लामो समयसम्म यस्ता धक्काहरु निरन्तर रुपमा गइरहने भन्दै भूकम्प मापन केन्द्रले सतर्क रहदै आतंकित नबन्न सबैलाई अनुरोध गरेको छ । विज्ञहरुले त्रासमा बस्न नहुने र ठूलो पराकम्पनको सम्भावना नरहेको बताउँंदै आएका छन् ।
यसैबीच दैनिक जसो आउने तिब्र हावाहुरीसँगैको भिषण बर्षाले जनजीवन थप आतंकित बनाउन थालेको छ । हावाहुरीले पालमा बसिरहेका अधिकांश भुकम्प प्रभावितहरुको जनजीवन थप कष्टकर बन्नुका साथै बालबालीका, सुत्केरी तथा बृद्धबृद्धाहरुको दैनिकी कठिन बन्न पुगेको छ ।