Live Streaming

दुई साता पछि युनिलिभर सञ्चालनमा

भानुभक्त आचार्य, हेटौडा ।
हेटौंडास्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले दुईसातापछि आफ्नो नियमित उत्पादन सुरु गरेको छ ।  पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन भएपछि गत बैशाख ४ गते सरकारले दिएको सार्वजनिक विदामा उद्योगका मजदुरहरु काम गर्न नआएपछि उत्पन्न विवादका कारण युनिलिभर बन्द भएको थियो । उद्योग व्यवस्थापन पक्ष र ट्रेड युनियनबीचको छलफलमा दुवै पक्षले आ–आफ्नो अडान छाडेपछि उत्पादन सुचारु भएको हो । बैशाख ४ गतेको विदा स्वीकृतिका लागि निवेदन पेश गर्ने र व्यवस्थापन पक्षले विदा स्वीकृत गर्नुपर्ने मजदुरहरुले अडान राखेका थिए । त्यस्तै उनीहरुले बन्द भएको समयको आधा तलब अन्य कुनै शीर्षकबाट मिलान हुने गरी पाउने भएका छन् । सार्वजनिक विदा र साप्ताहिक विदा बाहेकका दिनको आधा तलब दिइनु पर्ने मजदुरहरुको माग थियो ।


व्यवस्थापन पक्षले भने मजदुरहरुले दोहोरो माग राखेको भन्दै स्पष्ट पार्न आग्रह गरेको थियो । ट्रेड युनियनका माग हाललाई स्थगित गरी उद्योगको उत्पादन कार्य सुचारु गर्ने र दुई सातादेखि उत्पादन ठप्प भएपछि बजारको माग धान्नका लागि शुक्रबार र शनिबार अतिरिक्त समय काम गर्ने सहमति भएको श्रम कार्यालय मकवानपुरका प्रमुख श्याम श्रेष्ठले जानकारी दिनुभयो ।