बिशेष समितिले स्वास्थ्यमन्त्री र उपसमितिले अर्थमन्त्रीसँग सोधपुछ गर्दै
काठमाडौं, १३ जेठ ।
संसदको राष्ट्रिय विपत ब्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले आज स्वास्थ्यमन्त्री खगराज अधिकारीसँग भुकम्प प्रभावित क्षेत्रको स्वास्थ्य अवस्थाबारे जानकारी लिने भएको छ । भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य अवस्था गंभिर बनेको, महामारी फैलन सक्ने सम्भावना रहेको भन्दै जनगुनासो बढेपछि समितिले आज मन्त्री अधिकारीलाई नै बैठकमा डाकेको हो । समितिको बैठक अपरान्ह ३ बजेपछि सिंहदरवारमा बस्नेछ ।
बैठकमा स्वास्थ्य अवस्था बिग्रन नदिन यसअघि सरकारलाई दिएको निर्देशन कार्यान्वयन सम्बन्धमा समेत मन्त्री अधिकारीसँग जानकारी लिने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो । यसअघि हिजोको बैठकमा समितिले अर्थमन्त्री रामशरण महतसँग राहत संकलन र वितरणबारे जानकारी लिएको थियो ।
समितिको हिजोको बैठकले थप ५ वटा जिल्ला सोलुखुम्बु, तनँहु, लमजुङ्ग, पर्वत र स्याङ्जामा समेत भुकम्पको क्षतिबारे अनुगमन गर्न टोली परिचालन गर्ने निर्णय गरेको थियो । भोलीबाट सम्बन्धित जिल्लामा परिचालन हुने टोलीमा ४–४ जना सांसद र संसद सचिवालयका एक कर्मचारी सहभागी हुनेछन् ।
यसैबीच, सरकारी कामकारवाहीको अध्ययन गरी सुझाव दिन गठित उपसमितिको बैठक समेत आजै बस्दैछ । कँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको उपसमितिले अर्थमन्त्री महतसँग थप छलफल गरी आज राहत वितरण, पुर्ननिर्माण र पुनस्थापनाबारे बिशेष समितिलाई सुझाव प्रस्तुत गर्नेछ । संसदको निर्देशन अनुसार, सरकारी कामकारवाही अघि बढे–नबढेको बिषयमा अध्ययन गर्दै आवश्यक सुझाव दिन गठित सो उपसमितिमा एमालेका अग्नी खरेल, एकीकृत माओवादीका गिरिराजमणी पोख्रेल, सद्भावनाका लक्ष्मणलाल कर्ण र राप्रपा नेपालकी कुन्ती शाही सदस्य हुनहुन्छ ।