सरकारले अस्थायी टहरा बनाउन १५ हजारभन्दा धेरै दिन नसक्ने
जेठ १२, काठमाडौ । सरकारले भुकम्पप्रभावितका लागि घोषणा गरेको राहत रकम बढाउन नसक्ने स्पष्ट पारेको छ । संसदको राष्ट्रिय विपत ब्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको बैठकमा अर्थमन्त्री रामशरण महतले नेपालको स्रोत साधन र औकात अनुसार राहतको प्याकेज घोषणा गरिएको बताउनुभयो ।
उहाँले अस्थायी बासस्थान निमार्णका लागि सरकारले प्रतिपरिवार १५ हजार रुपैयाँ दिने भनेर घोषणा गरेको र त्यहाँभन्दा बढाउन नसकिने अबस्था नरहेको बताउँदै बरु समयमै राहत पुर्याउने कुरामा सरकार प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । समितिमा कांग्रेस एमालेका सभासदहरुले अस्थायी टहरा बनाउन ५० हजार दिनुपर्ने बताएका थिए भने कम्तीमा १ लाख रुपैयाँ राहत रकम दिनुपर्ने माग एमाओवादीको थियो ।
यसैबीच समितिले अहिलेसम्म सरकारले प्राप्त गरेको राष्ट्रिय अन्तर्रािष्ट्रय सहयोग र खर्चको बिबरण ५ दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । यसअघि पनि ५ दिनभित्रै विवरण माग गरिएको स्मरण गराउँदै समितिले अबको ५ दिनमा अनिवार्य विवरण पठाउन सरकारलाई निर्देश गरेको हो ।
यस्तै सर्बदलिय संयत्र गठनको निर्णय उपलब्ध गराउन निर्देशन दिएको भए पनि अहिलेसम्म आइनसकेको भन्दै संयन्त्र गठन गरेको भए सो निर्णय समितिमा पठाउन पनि सरकारलाई फेरि निर्देशन दिएको छ ।